Type to search

मुख्य समाचार स्विस/प्रवास

एनआरएनए सचिव पदका उम्मेदवार मनोज गोर्खालीले गरे आफ्नो प्रतिबद्धता सार्वजनिक

Share

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले सन् २०२३–२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘मैले आफ्नो जीवनको उर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईनं । दशौँ बर्ष खाडी मुलुकमा बिताएको छु र आज पनि श्रमजीवि नेपालीहरुको साथ र सेवामा निरन्तर यस अभियानमा जोडिएको छु,’  गोर्खालीले भने।

गएको झन्डै १५ वर्ष देखि एनआरएनए अभियानमा जोडिएका गोर्खालीले २०११ – २०१३ मा एनसीसी यूएईको उपाध्यक्ष, २०१७ – २०१९ मा आईसीसी सदस्य, २०१९ – २०२१  मध्यपूर्व सहसंयोजक र  २०२१- २०२३ मा मध्यपूर्व संयोजक पदमा निर्वाचित भएर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ को घोषणापत्र जस्ताको तस्तै:

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) को आगामी अक्टोवर १७ देखि शुरु हुन लागेको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिने घोषणा गर्न पाउँदा म असाध्यै हर्षित छु । विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था एनआरएनएको यो भूमिका दिलाउन यहाँहरुले पुर्‍याउनु भएको योगदानप्रति आभार ब्यक्त गर्दछु ।

एनआरएनएको इतिहासमा लामो समय व्यतित गर्दै आज म सचिव जस्तो गरिमामय पदमा उम्मेद्वारी दिन आईपुगेको छु । तपाई सम्मानित पार्षद् र अग्रजहरूको हरेक चरणमा विश्वास जितेर आजको अवस्थामा आईपुगेको हुँ भन्ने मलाई विश्वास छ । मैले आफ्नो जीवनको ऊर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईन । दशकौं बर्ष खाडी मुलुकमा बिताएको छु र, आज पनि श्रमजीवि नेपालीहरुको साथ र सेवामा निरन्तर यस अभियानमा जोडिएको छु ।

वैदेशिक रोजगार केही समय यता ठूलो विषय बनेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षाको मुद्दा केही हदसम्म समाधान उन्मुख छ । यद्दपि यसलाई अझै सेवामुखी र पारदर्र्शी बनाउन जरुरी देखिएको छ । एनआरएनका पन्जिकृत सदस्य तथा पार्षदहरुको विश्वास जितेरै २०११ – २०१३ मा एनसीसी यूएईको उपाध्यक्ष, २०१७ – २०१९ मा आईसीसी सदस्य, २०१९ – २०२१ सम्म मध्यपूर्व सहसंयोजकमा काम गर्ने मौका मिल्यो । यसपछि २०२१ – २०२३ मा मध्यपूर्व संयोजक पदमा निर्वाचित भएर सेवा गर्ने मौका पाएँ । यसले विश्वभर छरिएर रहेका नेपालीका विषयहरू थप नजिकबाट बुझ्ने अवसर मिल्यो ।

मध्यपूर्व संयोजक पदमा रहेर आफ्नो भूमिका निर्वाह गरिराख्दा मलाई मध्यपूर्व र मलेसियाको मात्रै सवाल होइन, वैदेशिक रोजगारीका लागि पूर्वी यूरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकहरूमा जाने नेपालीका सवालहरू पनि बुझ्ने अवसर मिल्यो । यी क्षेत्रका आवाजलाई दरिलो रूपमा उठाउन विश्वभर रहेका नेपालीको साथ आवश्यक पर्छ । यूरोप, अफ्रिका, एसिया, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीलाई एकसाथ जोड्न सकेमा मात्रै विश्वभर रहेका लाखौं नेपालीको मुद्दामा नेपाल सरकारलाई थप जिम्मेवार बनाउन सकिनेछ । यूरोप, अमेरिका र अन्य देशहरुमा बस्ने नेपालीहरुको दोहोरो नागरिकताको आवश्यकता र महत्वलाई नजिकबाट बुझ्ने मौका मिल्यो । “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने भावनामा राष्ट्रभक्ति भावको सम्बन्धलाई महशुस गर्न सके र बिदेशमा छरिएर रहेका आम नेपालीहरुको साझा मुद्दालाई साथ दिन मैले फेरि यही अभियानमा निरन्तरता दिन सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेको छु ।

मैले सचिव पदमा उम्मेद्वारी दिदै गर्दा चार वटा प्रमुख एजेण्डाहरुलाई अघि सारेको छु । बर्षौ बिदेशमा बिताएका नेपाली दाजुभाइ दिदीबहिनीहरु (रिटर्नी माइग्रेन्टस) को पुनर्स्थापना, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्सको बृद्धि एवं भरखरै लागु भएको सामाजिक सुरक्षाको कार्यान्वयन र संस्थाभित्र आर्थिक पारदर्शिता एवं यसमा महिला र युवाहरुको सहभागिता तथा नागरिकताको निरन्तरता ।

१) रिटर्नी श्रमिकहरुको पुनर्स्थापना

गैरआवासीय नेपाली संघले वैधानिक र सुरक्षित वैदेशिक रोजगारीको लागि निरन्तर आवाज उठाउदै आईरहेको छ । संघकै पहलकदमीमा बैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानको थालनी भईसकेको छ । यसले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षालाई सम्बोधन गर्ने विश्वास लिएका छौं । यद्यपि यसमा थप सुधार र स्पष्टताको आवश्यकता जरुरी देखिन्छ । अबको अभियान यतिमा मात्र सिमित रहँदा श्रमिकहरुमाथि न्याय पूरा हुँदैन । अवको अभियानमा बर्षौ बिदेशमा जीवन बिताएर फर्किएका श्रमिकहरुको सामाजिक र आर्थिक पुनर्स्थापना झन महत्वपूर्ण हुनेछ । यो मुद्दालाई गैरआवासीय नेपाली संघको मुद्दाको रुपमा स्थापित गर्न र टुङ्गोमा पुर्याउनको लागि मैले सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँ । यसका लागि आवश्यक कार्ययोजना बनाएको छु ।

२) विप्रेषण (रेमिट्यान्स) को वृद्धि एवं सामाजिक सुरक्षाको कार्यान्वयन

देशको ग्राहस्थ उत्पादनको एक चौथाइ भाग बैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले धानेको छ । यद्यपि अहिले पनि ठुलो मात्रामा अबैधानिक श्रोतबाट हुने कारोबारले रेमिट्यान्सलाई मात्रात्मक रुपमा असर पुगेको मात्र छैन देशको सुरक्षालाई चुनौती दिदै अर्थतन्त्रलाई नै क्षति पुगेको छ । बैधानिक तवरले रेमिट्यान्स पठाउन उत्प्रेरित गर्नको लागि श्रमिकहरुलाई प्रोत्साहन गर्ने आवश्यक कार्ययोजना सहित सरकारी स्तरमै पहल गरिनेछ ।

गैरआवासीय नेपाली संघको पहलकदमीमा नेपाल सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । यसले बिदेशमा रहेका नेपालीहरु अङ्गभङ्ग भएको अवस्थामा, मृत्यु भएमा उसको परिवारको सुरक्षाको प्रत्याभूति गरेको छ । अझै पनि यसको पूर्ण कार्यन्वयन गर्नु गराउनु हामी सबैको कर्तब्य हो । यो कोष अहिले नै पूर्ण नहोला तर समय अनुसार यसको परिमार्जन र सुधार हुँदै जानेछ । बैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुलाई यसमा जोड्नु नै आजको आवश्यकता हो । यसको लागि बिशेष योजना बनाएर बैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई जोडिनेछ जसले रेमिट्यान्सको वृद्धिमा गुणात्मक फड्को मार्नेछ ।

३) सांगठनिक आर्थिक पारदर्शिता एवं संगठनमा महिला तथा युवाको सहभागिता

गैरआवासीय नेपाली संघको संगठन दह्रो बन्दै गईरहेको अवस्था छ । हजारौं गैरआवासीय नेपालीहरु यस संस्थाप्रति आकर्षित बन्दै गईरहेका छन । युवाहरुलाई खेलकुदको माध्यमबाट संस्थामा जोड्ने ठोस योजना बनाइनेछ । संस्थालाई थप पारदर्शी बनाउनु आजको आवश्यकता पनि हो । यसर्थ यस २०२३ – २०२५ कार्यकालमा संघको आर्थिक पारदर्शिता मेरो प्रमुख एजेण्डा रहने छ साथै संघमा महिला तथा युवाहरुको बढ्दै गएको आकर्षणलाई स्थायी र दिगो बनाउँदै संस्थामा पुष्तान्तरण खोजिनु पर्दछ ।

४) नागरिकताको निरन्तरतामा मेरो प्रतिबद्धता

अन्ततः एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ । गैरआवासीय नेपाली नागरिकता दिने प्रावधान सहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यो उपलब्धिका लागि संसारभरि रहनु भएका एनआरएनए मित्रहरुलाई म हार्दिक बधाई दिन चाहन्छु । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने गरी नेपाल सरकारसंग समन्वयकारी भूमिका निर्वाह गर्ने छु ।

यही कारण अब मैले एनआरएनएको अर्को महत्वपूर्ण सचिव पदमा गएर सेवा गर्ने अठोट गरे । विश्वभरका नेपालीले देशका लागि सकेको योगदान दिनुपर्छ भन्नेमा दुईमत छैन । धेरैले सोध्छन, एनआरएनएको मुख्य काम के हो ? एनआरएनएको मुख्य काम विदेशमा रहेका नेपाली बीच एकता बढाउनु हो । आपसी सहयोग र सद्भावको विकास गर्नु हो । संसारभर छरिएका नेपाली बीच स्वस्थ र मर्यादित हिसाबले समन्वय गराउनु हो । यो कार्यबाट म विचलित हुने छैन ।

अतः यसपटक पनि यहाँहरुले विगतको जस्तै आशा, भरोसा र विश्वास गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मैले व्यक्तिगत स्वार्थ नभई सामूहिक हितका लागि काम गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

धन्यवाद !

मनोज कुमार श्रेष्ठ (गोर्खाली)

सचिव पदको उम्मेदवार (२०२३-२५)

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *