Type to search

मुख्य समाचार स्विस/प्रवास

बेलायती प्रधानमन्त्रीकालागि यसकारण सुनाकको हार र ट्रसको जित

Share

भारतीय मुलका आफ्ना प्रतिस्पर्धी ऋषी सुनाकलाई २० हजार भन्दा बढी भोटले पछी पार्दै वर्तमान विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुनिएकी छन । यस सँगै उनी बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने छन । प्रधानमन्त्री बन्ने यो दौडमा यस अघिका शुरुवाती मतदानहरुमा सुनाकले ट्रसलाई पछी पारिरहेका थिए ।

बेलायतमा संसदिय दलको नेता बन्नका लागि दुई चराणको प्रकृया पुरा गर्नुपर्दछ । पहिलो सम्बन्धित दलका सांसदहरु नयाँँ नेताका लागि मतदान गर्छन् र त्यो प्रकृयामा पहिलो र दोस्रो हुने त्यस दलका कृयाशिल सदयहरुले मतदानमा जाने बाटो खुल्छ । पार्टीका ३ सय ५८ सांसदमध्ये सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् । सांसदहरुको मतदानमा २४ भोटले अघी रहे पनि उनलाई भविष्यको बेलायती प्रधानमन्त्रीका रुपमा हेरिएको थियो । किनभने लिज ट्रस पनि बेलायती राजनीतिमा त्यति चर्चित नाम थिएन । ट्रसको राजनीतिक यात्रा निकै उवडखावड थियो । शुरुवाती कालमा उनी राजतन्त्रको कट्टर विरोधी थिइन । समय बित्दै जाँदा फेरी उनी राजातन्त्रको वकालत गर्ने समुहमा पुगिन ।

बेलायत युरोपियन युनियनमा रहने कि अलग्गिने भन्ने ६ वर्ष अघिको जनमत संग्रहताका लिजले ‘ब्रेक्जिट’ विरोधी नेताको रुपमा आफुलाई उभ्याएकी थिइन । धेरै पटक पार्टी भित्रका आन्तरिक बैठकहरुमा ब्रेक्जिटका अभियन्ता तथा निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सनसँग द्वन्द समेत परेको थियो । तर जनमत संग्रहको परिणाम ब्रेक्जिटका पक्षमा आएपछी धेरैको अनुमान विपरित उनी जोन्सनसँग नजिकिइन र उनकै मन्त्रीमण्डलमा सामेल हुन सफल भइन । उनी बोरिस जोन्सनको यस्तो विश्वासपात्र बनेकी थिइन की २०२१ को पुनर्गठित मन्त्रीमण्डलमा परराष्ट्र मन्त्रीमा नियुक्त भइन । बेलायतमा धेरैले उनलाई समयकाल बुझ्ने नेताको रुपमा लिन्छन भने कतिले अवशरवादी समेत भन्ने गरेका छन । तर जे होस अहिलेलाई उनी बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन र आर्थिक मन्दिको संघारमा हिंडिरहेको यो देशलाई फेरी चुस्त बनाउने गम्भिर जिम्मेवारीमा पुगेकी छन ।

अब उनको काँधमा बढ्दो मुद्रास्फीति, ऊर्जा संकट, आकासिएको महँगी, आर्थिक संकट, युरोप खासगरेर फ्रान्ससँगको बिग्रेको सम्बन्ध लगायतका विभिन्न समस्याले ग्रस्त बेलायतलाई पार लगाउने चुनौती छन । बेलायतले अब उनका हरेक कदमहरुलाई नाप्नेछ भने उनको सरकारले लिने निर्णयहरुलाई बेलायती जनताले तोला तोलाका हिसावले जोख्ने छन । उनले चाल्ने हरेक पाइलाहरुमा देशको मात्र होइन कन्जरभेटिभ पार्टीको भविष्य पनि जोडीएको छ ।

एक जना अवकास प्राप्त प्राध्यापक डा। डेभिड टेलर भन्छन- हामीलाई हाम्रो देश राम्रो चाहिएको हो । त्यसैका लागि हामीले बोरिस जोन्सनलाई हेर्यौं, लिजलाई पनि हेर्छौं र हामीले हेर्न छोड्दैनौं । यि त भए नयाँँ प्रधानमन्त्री लिजका कुरा ।

यो देश कस्तो बनाउने र देशलाई फेरी उस्तै बनाउनका लागि कस्तो निती लिने भन्ने कुरा उनी र उनको सरकारले गर्ने छ । तर लोकप्रिय हुँदाहुँदै, पार्टीका नेताहरुको उल्लेख्य समर्थन रहँदा रहँदै ऋषी सुनाक कसरी यो लडाईंमा पछारिए ? टाढाबाट हेर्नेहरुलाई बेलायत जती खुला र चम्किलो देखिन्छ खासमा बेलायत त्यस्तो छैन । यहाँँको चमक भित्र रहेको अँध्यारो पाटो र खुला समाज भित्र जकडिएका अनगिन्ती यस्ता बन्द ढोकाहरु छन जसले मान्छेका मनहरुलाई नजानिंदो तरिकाले बाँधेको छ । यो देशका पार्टीहरु पनि त्यस्तै मन भएकाहरुले खचाखच छन । यदी सुनाकले यो दौडमा जित निकाल्न सकेको भए विश्वले एउटा गहकिलो सन्देश पाउने थियो । बेलायती खुल्ला समाज भित्रका बन्द ढोकाहरु धेरै अर्थमा खुल्ने थिए । तर कुनै दोस्रो पुस्ताको आप्रवासिका लागि ति ढोकाहरु यती छिट्टै खोलिनु सम्भव थिएन । कम्तिमा अझै ५० वर्ष सम्भव छैन ।

हुन त सुनाकसँग राष्ट्रलाई अहिलेको संकटबाट मुक्त गराउने त्यस्ता कुनै गतिला योजनाहरु थिएनन । तथापी कोरोना महामारी पछी चुलिएको उनको चर्चाले धेरैको अनुमान उनी प्रधानमन्त्री बन्छन भन्नेमा नै थियो । समग्रमा अझै बेलायती सोच यती उदार भइसकेको छैन । सुनाकका हजुरवा भारतको पंजाव प्रान्तबाट अवशरको खोजी गर्दै अफ्रिकी मुलुक केन्या पुगेका थिए । समयले के भन्छ कसैलाई थाहा हुँदैन । ऋषिका पिता केन्यामा जन्मे । हुर्किदै गरेका छोरा छोरीलाई केन्याको अवशरले नपुग्ने देखे पछी उनी आफ्नो पुरै परिवार लिएर बेलायत आए । ॠषि सुनाक परिवार बेलायत आएको जम्मा जम्मी ६२ वर्ष पुरा भएको छ । ६२ वर्ष भनेको एउटा उमेर बराबर । सामान्य रुपले हिसाव गर्दा एउटा पुस्ताको उमेर । ऋषी सुनाक बेलायतको दक्षिणी शहर साउथहाम्प्टनमा जन्मे हुर्के । बाबु राष्ट्रिय स्वास्थ्य सेवाका जागिरे । आमाको औंषधी पसल । सामान्य अप्रवासिको तुलनामा यिनले बढी अवशर पाएका थिए । राम्रा स्कुल, कलेज र विश्व विद्यालयमा अध्ययन गर्ने मौका पाए ।

कलेज उमेर देखी नै यिनी राजनीतिमा चाख राख्न थालेका थिए । कलेजमा विद्यार्थीहरुको नेता बन्नु आफैंमा राजनीतिको शुरुवात थियो । तर त्यसमा सकृयता भने आफ्नो पढाई सके पछी मात्र बढाए । सन २०१५ को संसदिय निर्वाचनमा उनी पहिलो पटक सांसदको रुपमा चुनिए । युरोपियन युनियनको सदस्य राष्ट्रको रुपमा रहने कि नरहने भन्ने जनमत संग्रहको अभियानका क्रममा सुनाक ब्रेक्जिटका पक्षमा लागेका थिए । जनमत संग्रहको परिणाम उनिहरुले चाहे जस्तै आयो पनि । तर युरोपियन युनियनबाट अलग्गिने विषयले कसरी बेलायतइहरुका मनमा कब्जा गर्न सफल भयो भन्ने कुरा यहाँँ अलिकती मनन योग्य छ ।

दुनियामा धेरैको चाहना बेलायत प्रवेश गरेर यही बसोवास गर्ने भन्ने हुन्छ । त्यस्ता मान्छेहरु मध्ये कतिपय विभिन्न माध्यमबाट यहाँँ आएका पनि छन । अप्रवासीहरुको बढ्दो आगमनलाई रोक्न सरकारले विभिन्न कानुनहरुलाई कडाइका साथ लागु गरेको छ । जसले युरोप बाहेकका मुलुकबाट भित्रिने अप्रवासीहरुको संख्या शुन्यमा त झरेन तर यसमा निकै संकुचन आयो । तथापी रुमानिया र बुल्गेरिया जस्ता मुलुकहरु युनियनमा सदस्यका रुपमा प्रवेश पाए पछी बेलायत प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढ्यो । स्कुलहरुमा सिट पुगेन, स्वास्थ्य सेवामा सहज पहुँछ कम हुँदै गयो र मुख्य रुपमा सरकारद्वारा उपलब्ध गराइने आवासहरु बाँडिएका थिए । यसले स्थानियहरुमा विदेशीहरुले हामीले पाउने अधिकारमा कब्जा गरे भन्ने भावना उत्पन्न भयो । यसैको बढ्दो रुप नै ब्रेक्जिट अभियान थियो जसका मुख्य प्रचारक बोरिस जोन्सन थिए भने ऋषी सुनाकहरु सहायोगी ।

त्यतिबेला ब्रेक्जिटको पक्षमा परिणाम मात्र आएन कतिपय स्थानिय समुहहरुले हाम्रो देश खाली गर भन्ने अभियान पनि शुरु गरे । त्यसैले परिणाम आएको दिन देखी नै युरोपियनहरु मात्र होइन अन्य आप्रवाशीहरु समेत देश छोड्ने लाइनमा उभिएका थिए । पोल्याण्डका एक जना लेखापाल बेलायत छोड्नु एक्कैछिन अघी म्यान्चेस्टर विमानस्थलमा बेलायती समाचार माध्यमसँग कुरा गर्दै भनेका थिए- “मैले २७ वर्ष सेवा गरेको यो देशले मलाई (हामीलाई) निकाल्न यत्रो निर्णय गर्ला जस्तो लागेको थिएन ।”

त्यतिबेला धेरै मान्छेहरु जो जसले यो देश छोडेर गए ति सबैले कुनै न कुनै रुपमा यहाँको उन्नती र प्रगतिमा योगदान पुर्‍याएका छन । तर यो देश बेलायत हो र यहाँका नागरिक बेलायती । यो समाज जती खुल्ला छ, त्यतिनै खुला समाजको बन्द ढोका भित्रबाट आउने आवाजले यहाँँको लामो सभ्यताको नेतृत्व गर्छ । सुनाकको हार स्वभाविक थियो किनभने पहिलो उनी दोस्रो पुस्ताका आप्रवाशी हुन् र दोस्रो विभिन्न संकटका कारणले विघटनको अवस्थामा पुग्न लागेको यो देशलाई पार लगाउने उनी सँग कुनै योजना थिएनन । जो जती सांसदहरुले उनलाई भोट् दिएर हौस्याए ति सबैलाई सुनाक प्रधानमन्त्री बन्न सक्दैनन भन्ने राम्रो सँग थाहा थियो ।

  • साभार नेपालप्लस

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *