Type to search

Uncategorized फोटोफिचर स्विस/प्रवास

नेपाली टुरिष्टका स्विस गाईड, हिउँको गुफाभित्र त्यो यात्रा

Share

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड

हामी तिन जना छौं । बिदुर संग्रौला,प्रेम भारती र म निराजन श्रेष्ठ समय समयमा मिलेर केहि दिन या हप्ता घुम्न जाने मेसो वर्षौं देखि मिलाउँदै आएका छौँ । हामीलाइ मनपर्ने कुनै ठाउँ छान्ने गर्छौं । अहिले स्विजरल्याण्डमा जाडो याम भएकोले मैले हिम पैदल यात्रा गर्ने प्रस्ताव राखें। यो योजनालाई कोरोना महामारीले पनि असर नगर्नेमा बिश्वस्त भएपछि एक महिना अगाडी नै जनवरी २२-२५ सम्म बिदा मिलायौं ।

गएका वर्षहरु भन्दा यो वर्ष स्विसमा केहि समय अगावै हिमपात बेजोडले पर्न थाल्यो । डिसेम्बर महिनाको दोश्रो हप्ता देखिनै लगभग गएको २० वर्ष पछि गाउँ देखि सहरसम्म । समथल देखि हिमपर्वत सम्म भारी हिमपात भएको मौसम बिभागले सुनायो । अर्को तर्फ स्विस सरकारले कोरोना महामारी रोक्न झनै कडा नियम लागु गर्दै सुनेपछि योजना रद्ध गर्नुपर्छ कि भन्ने सोच्दै थियौं। तर हामीले कसैको वास्ता नगरी चर्मातमा होटेल बुक गर्यौं ।

जाडो याममा बस्ने घर (विन्टर होम) भनेर चिनिने चर्मात स्विसको भालिस प्रान्तमा पर्दछ । बाह्रै महिना पर्यटकको भिड् लाग्ने भएकैले यो अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । चर्मात पर्वतारोहणहरुको केन्द्रपनि मानिन्छ । हिउँमा खेलिने थरिथरिका खेल र हिमपैदल यात्रा गर्नेका लागि एक प्रख्यात होलिडे रिसोर्ट स्थान भनेर पनि चिनिन्छ यो। विश्वमा प्रख्यात स्विस चकलेट तोब्लारोनेमा छापिने हिम पर्वतको दृश्य मात्तरहोर्ण ४,४७८ मिटर अग्लो हिम पर्वत यसै क्षेत्रमा पर्दछ । स्विस कै अग्लो दुफोर स्पित्चे (४,६३४ मिटर ) हिम शिखर पनि यहि क्षेत्रले समेटेको छ । फ्रान्समा पर्ने युरोपकै सर्वाधिक अग्लो हिम शिखर मोँ ब्लँ (४,८१० मिटर) र इटालिएन क्षेत्रका अग्ला हिम शिखरहरु मिलेर जोडिएको पानोरामा दृश्य देखिने एक उत्कृष्ट स्थान हो चर्मात ।

जनवरी २२ विहानै मात्तरहोर्णको हिम पैदल यात्रा गरेर फन्को मार्न हामी सारै उत्सुक थियौं । चर्मात गाउँ सार्वजनिक यातायात निषेधित क्षेत्र भएकाले (पानोरामा रेल र अनुमति पाएका स्थानीय ट्याक्सी बाहेक) फेदीको गाउँबाट ट्याक्सीमा माथि गाउँ पुग्यौं । हामीलाई चाहिने जति सबै समान भएको झोला बोकेर डाँडाको हाम्रो बास्थानमा पुग्दा रातको दश ले घण्टी बजाई सकेको थियो। भोलि पल्ट शनिवार बिहानै उठेर होटल बाहिर निस्कँदा हाम्रो स्विस गाइड आन्द्रेयास लेर्जेनले हामीलाई कुरेर बसेका थिए ।

यो ठाउँमा हिम पैदल यात्रा गर्ने बाटाहरु छान्न पाइने रहेछ । तर हिम पर्वत मात्तरहोर्णलाइ फन्को मार्न ग्लासिएर ट्रेल जस्ता अफ्ठ्यारा बाटो हिड्न तालिम प्राप्त व्यक्तिको साथ् चाहिने भएकोले यो ठाउँलाइ राम्ररी चिनेको, बातावरण थाहा पाएका तालिम प्राप्त स्विस गाइड बुक गरेका थियौं ।

विहान कालो बादलले आकाशलाइ धपक्क छोप्यो । यात्रा अपुरो हुने होकी ? हिम पहिरोका कारण जोखिम हुने होकी ? प्रश्नै प्रश्नले खेद्न थाले । जब हामी हिउँले ढाकेको कालो ताल माथी हुँदै हिम पैदल यात्रा बिस्तारै अगाडी बढायौं तब मात्तरहोर्णले हामीलाई स्वागत गर्न हतारिए जस्तो अनुभूति भयो । घामको किरण खसेर मुस्कुराएको ऊ अचानक निलो आकाशभित्र पसेजस्तो भयो । उसले रंग फेरेजस्तो गर्‍यो ।

हाम्रो यात्रापनि बिस्तारै एक देखि अर्को हिउँका थुम्का नाप्दै अगादि बढ्यो । जति नजिक गयो मात्तरहोर्ण अग्लिँदै गयो । हाम्रो हिम पैदल यात्राको उचाइपनि बढ्दै गयो । एक देखि अर्को सुन्दर दृश्य हाम्रो आखाँमा ठोक्किँदै गए । आहा ! कति सुन्दर दृश्य ! यो सुन्दरताको यथार्थ वर्षण कसरि गरुँ ? मेरो शब्द कोषले यहाँको सुन्दरतालाई अन्याय नगरि वर्षण गर्न सक्लान झैं लागेन ।

जति सुन्दर देखिन्थे दृश्यहरु त्यति डरलाग्दा पनि थिए हिउँका बाटा । तिनका बारे न कतै केहि लेखिएको छ । न कतै संकेत नै छ। आफु हिँड्ने बाटो जता हेर्‍यो उता सबै सेतै । जतापनि सम्मै । हिड्ने बाटो आफै पत्ता लगाउनुपर्ने । कतै केहि गरि गलत बाटो हिडेमा हिउँमा भासिनो होकी भन्ने डर । फर्कंदा केहि गरि हिम पहिरोमा परिने होकी भन्ने अर्को त्रास । जति तालिम प्राप्त भएका मान्छेहरु पनि सानो गल्तिका कारण आफ्नो ज्यान गुमाएकै हुन्छन् हिमालमा । हिम पहिरो खसे वा त्यसमा आफैं पुरिएमा हामीलाई छिटो भन्दा छिटो उद्दार गर्न आओस भनेर स्विस सुरक्षाको मेसिन पनि बोकेका थियौं । त्यस्तो डरलाग्दो बाटो हिँड्न त्यति सानो हिउँ जुत्ताले हाम्रो यति ठूलो ज्यानलाइ कति हलुकासँग सुरक्षित तरिकाले बोकेको थियो । थाह भयो, यो बाटो हुँदै यो ठाउँमा जाडो याममा मात्रै आउन सकिँदो रहेछ । गर्मीयाममा हिमनदी पग्लिएर यो बाटो आउँदा धेरै खतरा हुने भएकाले पैदल यात्रा बन्द गरिँदो रहेछ।

प्रत्येक पाइला पाइलामा त्यहाँबाट देखिने हिम पर्वतका दृश्यहरुको भरपुर मनोरन्जन लिएर अगाडी हिँड्दै गयौं । आन्द्रेआसले प्रत्येक पाइला पाइलामा हामीलाई जानकारी गराउँदै थिए ।

मात्तरहोर्णको पछाडी भाग इटालीमा पर्दो रहेछ । चर्मातको पर्यटकीय क्षेत्रबाट अगाडी देखिने राम्रो भाग स्विसमा पर्ने भएकोले यो हिम पर्वतलाइ स्विसको मानिएको रहेछ । जस्तै नेपालको सगरमाथा !

लगभग ३,२०० मिटर माथि मात्तरहोर्णको काखमा पुगेर तल झर्दै गर्दा हिमगुफा देखेपछि हामी अचम्म पर्‍यौं । त्यस्तो ठाउँमा गुफा ! त्यहाँ भित्र आफ्नो अनुहार देखिने ऐना जस्तो जमेको चमकदार हिउँ बरफ । गुफा भित्र जमेको हिमताल । ओहो ! कस्तो अचम्म अनि कति राम्रो !

लगभग आठ घण्टाको हिम पैदल यात्रा पछि हामी हाम्रो बास्थानमा आइपुग्यौं । आइतवार बिहान हाम्रो थकित शरीरलाइ आनन्दले आराम गर्न दियौं । ढिलो उठेर भएपनि चर्मातको केवलकार चढियो । पर्यटक लोभ्याउन राखेका मनोरन्जन लिँदै बेलुकापख हामी घर फर्क्यौं । तिन दिने यो हाम्रो यात्रा अवस्मरणिय रह्यो ।

५५ बर्षीय आन्द्रेयास लेर्जेन नेपाल धेरै पटक गएका रहेछन ।आन्द्रेआस भन्दै थिए “नेपालमा स्विसहरुको गाइड नेपाली हुन्थे । अहिले स्विसमा भने नेपालीहरुको गाइड स्विस भए । यो मौका मेरो लागि पहिलो पटक पाएको छु । म धेरै खुसि छु । नेपालीहरुको स्विस गाइड हुन पाउँदा आफुले आफैले प्रीमियर भएको महसुस गरेको छु ।” आन्द्रेयासको त्यस्तो कुरा सुन्दा हामीलाई एक किसिमले गौरव भएको महसुस गराएको थियो । आउँदो वा अर्को वर्षको गर्मीयाममा स्विजरल्याण्डकै अग्लो दुफोर स्पित्चे हिमशिखर हाम्रो स्विस गाइडसँग चढ्ने प्रतिबद्धता गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *