Type to search

मुख्य समाचार स्विस/प्रवास

सुदूरपश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

Share

काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन – २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ ।

शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबिचमा लगानी तथा विकास सम्मेलनमा विषयमा छलफल भयो । छलफलका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एनआरएनएका पूर्व अध्यक्ष द्वय लामिछाने र महतोसँग आग्रह गरे । प्रदेश सरकारले लगानीका लागि आवश्यक नीति र वातावरण बनाउने आश्वस्त पार्दै मुख्यमन्त्री शाहले सुदूर पश्चिममा लगानी गर्न आग्रह गरे । उनले पूर्व अध्यक्ष द्वय लामिछाने र महतोलाई फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनमा सहभागी हुन आग्रह गरे । एनआरएनएका पूर्व अध्यक्ष एवं सानिमा ग्रुपका अध्यक्ष लामिछानेले सुदूरपश्चिममा आफ्नो समूह लगानी गर्न तयार रहेको र त्यसका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे । एनआरएनएका संस्थापक अध्यक्ष तथा मेडिसिटी अस्पतालका अध्यक्ष डा. महतोले पनि सुदूरपश्चिममा लगानी गर्ने प्रतिबद्धता गरे ।

मुख्यमन्त्रीको निमन्त्रणा स्वीकार गर्दै पूर्व अध्यक्ष द्वय लामिछाने र महतोले लगानी तथा विकास सम्मेलनमा सहभागी हुने जानकारी गराए । लगानी तथा विकास सम्मेलनका लागि अन्तर्राष्ट्रिय संयोजक हिकमत थापाको संयोजनमा आयोजित छलफलमा सुदूर पश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही समेत सहभागी थिए । यसअघि मुख्यमन्त्री र गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष डा. शेष घलेबिच पनि लगानी तथा विकास सम्मेलनका सम्बन्धमा छलफल भएको थियो । छलफलमा डा. घलेले सहभागिताका लागि निमन्त्रणा स्वीकार गर्दै उपयुक्त प्रोजेक्टहरू पहिचान गर्दै लगानीकर्ताबिच प्रस्तुत गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *