Type to search

मुख्य समाचार स्विस/प्रवास

एनआरएनए यूकेको विशेष अधिवेशन तयारी पुरा, सदस्यता खुल्ला त्यसैदिन, महाधिवेशन २२ जुलाईमा

Share

लन्डन । गैरआवासीय नेपाली संघ यूके १० औं कार्यसमितिको आगामी २१ मे आइतबार हुने विशेष अधिवेशनको तयारी पुरा भएको छ ।संघले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरि सम्मेलन तयारी पुरा भएको जनाएको हो ।

अल्डरसटस्थित एम्पायर हलमा विशेष अधिवेशन हुंदैछ ।विशेष परिस्थितिका कारण हकल विद्यमान विधानको गांठो फुकाउन विधान संशोधनका लागि विशेष अधिवेशन गर्नु परेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

अध्यक्ष गाहामगरले त्यसैदिन नयां सदस्यता खुला गरिने र सदस्यता शुल्क जम्मा ५ पाउण्ड तय गरिएको पनि जनाए । संघको महाधिवेशन आउंदो जुलाई २२ मा गरिने समेत अध्यक्ष गाहामगरले बताए । अर्को पक्षले पनि यही दिन अधिवेशन तय गरेको छ ।

बिहान ११ बजेदेखि हुने उक्त अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयां नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समिक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने जानकारी अध्यक्ष गाहामगरले दिए । वार्षिक प्रगति र आयव्यय प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।

अधिवेशनमा आतिथ्यका लागि एनआरएनए केन्द्रिय पूर्व अध्यक्षहरु सबैलाई निमन्त्रणा पठाइएको र एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने कन्फर्म भइसकेको गाहामगरले बताए । तीन जना अध्यक्ष भएको वर्तमान कार्यसमितिलाई भने उनीहरु विरुद्ध उच्च अदालतमा मुद्दा विचाराधिन भएकाले निम्तो नगरिएको उनले स्पष्ट पारे ।

विशेष अधिवेशनमा नेपालबाट राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, टेलिभिजनकर्मीहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको संघले जनाएको छ ।

प्रमुख अतिथी, विशेष अतिथी लगायतलाई एनआरएनए अफिसबाट पञ्चेबाजा र पाइपर धुनसहित एम्पायर हलसम्म लगिने पनि अध्यक्ष गाहामगरले जनाए ।

उक्त विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धि वहसलाई प्राथमिकता दिइएको गाहामगरले बताए । एनआरएनए नेता भनिनेहरुले परिचयपत्रमा चित्त बुझाएर वंशजको नागरिकतामाथि खेलवाड गरेको आक्षेप लगाउंदै उनले आफूहरु वंशजको नागरिकता निरन्तरता हुनुपर्छ भन्ने आन्दोलनलाई झन् तीव्र रुपमा अगाडि बढाउने तयारीमा रहेको पनि बताए । त्यस दिन वहसबाट आएको निष्कर्षसहितको ज्ञापनपत्र नेपाल सरकारलाई दिइने पनि गाहामगरले बताए ।

बेलायतमा भूतपूर्व गोर्खाहरुको वाहुल्यता र भावनालाई नजरअन्दाज गर्दै उनीहरुलाई धोका दिइएको पनि गाहामगरले दावी गरे । ‘उनीहरुले अहिलेसम्म हामी गोर्खाहरुलाई भ्रममा राखे तर अब परिस्थिति परिवर्तन भइसकेको छ’, गाहामगरले चेतावनी दिए, ‘परिचयपत्र सरहको नागरिकता कार्यान्वयनमा आउंछ भन्दै हिंड्ने कुल आचार्यजीलाई बेलायतवासीले क्षमा दिने छैनन् ।’

अधिवेशनमा विधान संशोधनका लागि सल्लाहकार विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव मगर संघ यूके उपाध्यक्ष रुद्र थापा र सदस्य पत्रकार टेकबहादुर थापा क्षेत्री रहेको समिति बनाइएको पनि गाहामगरले जनाए । आइसीसी पूर्व सदस्य तिगेला यसअघि विधान समिति यूकेको सदस्यसचिव र केन्द्रिय विधान संशोधन समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।

अध्यक्ष गाहामगरले यसअघि नै सबैलाई निमन्त्रणा पठाइसकिएको जनाउंदै नपुगेको भए यसैलाई आधार मानेर कार्यक्रममा आइदिन पनि आग्रह गरे ।

एनआरएनए यूके महासचिव नम्रता घले गुरुङले स्वागत गरेपछि पत्रकार सम्मेलन अगाडि बढेको थियो । सो क्रममा महिला संयोजक अमृता गिरी गजुरेल, उपाध्यक्ष तथा प्रवक्ता भरतमणी चोङवाङ, कोषाध्यक्ष चम्पा थापामगर, सदस्य धन तामाङ लगायतले बोलेका थिए । उनीहरुले बेलायतस्थित सम्पर्ण पञ्जीकृत सदस्यहरु र अतिथीलाई निम्तो पठाइसकिएको जनाउंदै सहभागिताका लागि अपिल गरेका थिए ।

कार्यक्रममा सहकोषाध्यक्ष रविन गुरुङ, सदस्यहरु निकेश लिम्बु, मनिकला राई गुरुङ, ग्यान्जु शेर्पा, चेतन राना लगायत सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *