Type to search

इन्द्रेणी मुख्य समाचार

गङ्गा आचार्यका दुई कृती लोकार्पण

Share

ज्योति साहित्य प्रतिष्ठानको २०४औँ शृङ्खलाका अवसरमा मङ्सिर १६ गते शनिबारका दिन गङ्गा आचार्य (सापकोटा) का गङ्गाप्रवाह कविता सङ्ग्रह र भावगङ्गा गजल सङ्ग्रहको लोकार्पण भयो । कार्यक्रम ज्योति प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व र तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रभा भट्टराई, अतिथिका रूपमा षडानन्द पौडेल, बुद्धिमान महर्जन, कोषराज न्यौपाने, प्रा. गोविन्दमान सिंह , निर्मल पराजुली रहेका थिए । उषा आचार्यद्वारा सञ्चालित सो कार्यकममा प्रमोद सारङ र गङ्गा आचार्यलाई ज्योति स्रष्टा सम्मान, रुबिना रानामगर र सुनिता अधिकारीलाई आजीवन सदस्यता प्रदान गरियो ।

समीक्षक घनेन्द्र ओझाले भावगङ्गा गजलसङ्ग्रका बारेमा बोल्दै गजलको विकास र नेपालमा यसको वर्तमान अवस्थाबारे बताए । उनले गजललेखनको परम्परा गलत दिशातिर गएको सङ्केत गर्दै आचार्यको कृतिमाथि टिप्पणी गरे । तस्तै गङ्गाप्रवाह कवितासङग्रहमाथि बलराम दाहालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले आचार्यभित्र कवित्त्वशक्ति भएकाले अझै राम्रा कविता लेख्न सकिने भन्दै कृतिको सबल पक्षबारे धारणा प्रकट गरे ।

अतिथि षडानन्द पौडेलले छन्द शैली अपनाएर कविता लेख्ने महिला कवि कम भएको भन्दै कवितासङ्ग्रहका बारेमा आफ्ना विचार राखे । विशिष्ट अतिथि प्रभा भट्टराईले छन्द शैलीका रचनालाई छोरीको संज्ञा दिँदै आचार्यको एउटा कविता वाचन गरेर सुनाइन् । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तुलसी दिवसले कविताका बारेमा आफ्ना धारणा राख्दै कवि अरूका प्रभावबाट मुक्त हुनुपर्ने, मौलिकता र निजत्त्व रचनामा देखिनुपर्ने र छन्दबद्ध वा मुक्क्त त्यो लेखकको चयनको विषय भएकाले त्यसमा जोड नदिई कविताबाट कम शब्दमा धेरै भाव प्रस्तुत गर्न सक्नुपर्छ भन्ने विचार व्यक्त गरे । सो कार्यक्रममा सर्जक आचार्यले आफूलाई लेख्न प्रेरणा दिने सबैलाई धन्यवादज्ञापन गरिन् । महेश रिजाल, कल्पना भट्टराई, जानुका गुरागाईँ, बृन्दा पराजुलीद्वारा रचना वाचनसमेत गरिएको उक्त कार्यक्रमको समापन मणिराज सिंहले गरे ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *