७१ परिवारलाई जयसवालको राहत
Share

रौतहट,
रौतहटको गरुडा नपा ४ गरुडा गाउँका दलित तथा अपांग परिवारलाई एकजना समाजसेवीले व्यक्तिगत किसिमले राहत उपलब्ध गराएका छन् । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयर प्रत्याशी तथा संघीय संसदको गत निर्वाचनमा राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका कन्थमुनिप्रसाद जयसवालले आफ्नो व्यक्तिगत लागतमा गरुडाका ७१ दलित तथा अपांग परिवारलाई राहत उपलब्ध गराएका छन् ।
सामाजिक दुरीलाई कायम राख्दै गरुडा गाउँस्थित रामजानकी मठनजिक आँपको बगैँचामा जयसवालले राहत सामग्री वितरण गरेका हुन् । जयसवालले दश किलो चामल, तीन किलो आलु, दाल, नुन, तेल र माक्स एउटा बोरामा पैक गरी एक समारोहबीच समस्यामा परेका विपन्न दलित समुदायलाई वितरण गरेका हुन् ।
राहत पाउने दलित विपन्न परिवारले खुसी व्यक्त गरेका छन् । परेको वेला विपन्न समुदायलाई आफ्नो निजी खर्चबाट राहत उपलब्ध गराउनु प्रशंसनीय भएको प्रतिक्रिया सर्वसाधारणको रहेको छ ।
स्थानीय तहले पनि राहत वितरणको तयारी गरेको तर केही विलम्ब हुन गएकोले समस्यामा परेका विपन्न दलित परिवारलाई आफूले राहत उपलब्ध गराएको जयसवालले बताएका छन् ।
यसैबीच गरुडा निवासी नारायण साह कानुले वंशीराम जयसवाल अनाथालयलाई ३० किलो चामल तथा तरकारी र दाल सहयोग गरेका छन् । अनाथालयमा ३४ जना बालबालिका रहेको अनाथालयका हृदयनारायण कुशवाहाले जानकारी गराएका छन्