इटालीको मिलान फेसन वीकमा प्रतिष्ठा
Share
लन्डन — विश्वका पेरिस, मिलान, लन्डन, न्युयोर्क फेसनका लागि प्रख्यात मानिन्छन् । ती सहरमा गरिने फेसन वीकमा आफ्नो उत्पादन प्रदर्शन गर्न विश्व चर्चित ब्रान्ड पनि लालयित हुन्छन् । सयौं सेलिब्रेटी मोडल र्याम्पमा उत्रन्छन् ।
१६ औं शताब्दीदेखि विश्वकै ‘फेसन राजधानी’ को उपाधि पाएको इटालीको मिलान सहर गत साता आफ्नै लयमा फर्किएको छ । कोरोना महामारीले झन्डै दुई वर्षको अन्तरालपछि मिलानले गत २१ देखि २७ सेप्टेम्बरसम्म ‘मिलान फेसन वीक’ गर्यो जहाँ सेलिब्रेटी मोडल र मिडियाहरुको जमघट थियो । त्यही माहोलमा एकजना नेपाली चेलीले पनि आफ्नो कला देखाएर बेलायत फर्किएकी छन् ।
इभेन्ट साभोले आयोजना गरेको फेसन सप्ताहमा प्रतिष्ठा राउत इटालियन डिजाइनर भ्यालेन्टिना पोल्ट्रोनियरीका डिजाइनमा बनेका सेतो स्कर्ट र टिसर्ट तथा स्पेनिस डिजाइनर आना बेनभेनुतोको हरियो ड्रेस पहिरिएर र्याम्पमा उत्रिइन् । ‘फेसनको राजधानी पुगेर क्याटवाक गर्ने सपना पूरा भयो’ उनले सुनाइन्, ‘विश्वका कैयौँ सेलिब्रेटी मोडलहरुसँगै सहभागी हुन पाउँदा धेरै सिकेँ ।’
उनलाई मेक अप गर्ने जिम्मा एकाडेमिया लिलियना पाडुयनो टिमले गरेको थियो । आउँदो १६ अक्टोबर हुने ‘मिस युनिभर्स ग्रेट ब्रिटेन’ की फाइनलिस्ट प्रतिष्ठा बेलायत अल्डरसटनिवासी हुन् । उनी मिस इंग्ल्याण्ड २०१९ मा सेकेन्ड रनरअप हुन सफल भएकी थिइन् । हङकङमा जन्मिएर ५ वर्षको उमेरदेखि बेलायत बस्ने प्रतिष्ठा १६ वर्षमै मोडलिङ थालेको बताउँछिन् ।
युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले ‘प्लोर प्लान आर्किटेक्ट’ हुन् ।
-(इ-कान्तिपुरबाट)