उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
Share
काठमाडौं, वैशाख ९ । उदयपुरमा थप ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको भएको पुष्टि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएपछि थप परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर पठाइएको थियो । उनीहरुमध्ये ८ जनामा फेरि कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि, कोरोना संक्रमण पुष्टि भएका १२ जना विराटनगरको कोरोना अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् छन् ।यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा अर्का एकजना युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३३ वर्षीय युवकमा कोरोनाभाइरस पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।