चुनाव सार्ने ट्रम्पको प्रस्तावमा रिपब्लिकन पार्टीकै असहमति
Share
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने चुनावमा धाँधली हुनसक्ने भन्दै मिति सार्न गरेको प्रस्ताव रिपब्लिकन पार्टीले नै अस्वीकार गरेको छ।
चुनाव सार्नुपर्ने प्रस्तावलाई सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गरेका हुन्। आगामी निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीबाटै उम्मेद्वार बन्दैछन्।
यसअघि ट्रम्पले निर्वाचनमा नागरिकले सुरक्षित, निर्धक र ठीक ढंगले भोट हाल्ने वातावरण नभएसम्म स्थगित गर्नुपर्ने बताएका थिए। ट्रम्पले हुलाकमार्फत् गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउनसक्ने बताउँदै निर्वाचन सार्ने चाहाना व्यक्त गरेका हुन्।
उनी लामो समयदेखि हुलाकमार्फत् गरिने मतदानको विपक्षमा उभिँदै आएका छन्। तर, कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै अमेरिकी राज्यहरू हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन्।
ट्रम्पको चुनाव सार्ने अभिव्यक्तिको रिपब्लिकन र डेमोक्र्याट सांसदहरुले तीव्र विरोध गरेका छन्। अमेरिकामा चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। चुनाव सार्न अमेरिकी संसद कङ्ग्रेसले नै अनुमति दिनुपर्छ।
रिपब्लिकन नेता मककोनेल र मकार्थीसँगै ट्रम्पका साझेदार समेत रहेका सिनेटर लिन्ड्से ग्राहमले पनि चुनाव सार्ने प्रस्तावको विरोध गरेका छन्। उनले कुनै पनि बहानामा चुनाव सार्नु उचित नभएको बताएका छन्।
यसैगरी पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्पको प्रस्तावको विरोध गरेका छन्। उनले ट्रम्पको अभिव्यक्तिलाई ‘अमेरिकी लोकतन्त्रमाथिको आक्रमण’ भएको प्रतिक्रिया दिएका छन्।
-बीबीसीबाट