सुन्दरीजलमा खसालियो मेलम्चीको पानी थप सामग्री
Share

निर्माण शुरु भएको झण्डै दुई दशकपछि सिन्धुपाल्चोकको मेलम्चीको पानी सुरुङबाट काठमाडौंको सुन्दरीजलमा खसालिएको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाले सुरुङ ढोका खोल्दै मेलम्चीको पानी सुन्दरीजलमा खसालेका हुन्। परीक्षणका लागि १० फागुनमा मेलम्चीको पानी सुरुङमा पठाइएको थियो।
मेलम्चीबाट पठाएको पानी २६ किलोमिटर लामो सुरुङ पार गरेर १३ दिनमा सुन्दरीजल पुगेको हो। अहिले प्रतिसेकेन्ड २६० लिटर पानी सुरुङमा हालिएको आयोजनाले जनाएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा पुग्नेछ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५१ को निर्वाचनको प्रचारका क्रममा मेलम्चीबाट पानी ल्याउने आश्वासन दिएसँगै यसको चर्चा शुरु भएको थियो। तर, यसको निर्माण भने २०५८ देखि मात्रै शुरु भएको हो।