Type to search

स्विस/प्रवास

लेखसंग्रह ‘ नेपालः रूसबाट हेर्दा ’ शीर्षकमा प्रकाशित

Share

– कृष्णप्रकाश श्रेष्ठ ,मस्को

रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गमा आजभन्दा १४५ वर्षअघि नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, विश्वविख्यात प्राच्चविद्, बुद्धधर्म र दर्शनका ज्ञाता, रुसमा भारत वर्ष विद्या तथा नेपाल विद्याका संस्थापक इभान पाभ्लोभिच मिनाएभ (सन् १८४०–१८९०) को १८०–यो जन्मजयन्ती तथा १३०–सौं स्मृति दिवसप्रति समर्पित लेखसंग्रह ‘नेपालः रूसबाट हेर्दा’ शीर्षकमा प्रकाशित भएको छ ।

यसको प्रकाशनमा एक वर्षअघि मात्र रूसमा अस्तित्वमा आएको हिमालय वारपारका क्षेत्रको बहुमुखी अध्ययन–अनुसंधानमा संलग्न अध्येता र विज्ञहरूको गैरसरकारी सामाजिक संस्था ‘रसियाली हिमाल तथा तिब्बत अनुसन्धानकर्ता संघ’ को अग्रसरतामा प्रकाशमा ल्याइएको हो ।

विश्वव्यापी महामारीको सर्वविदित कारणले गर्दा अझैं पनि उक्त पुस्तक मेरो हातमा पर्न सकेको छैन । तैपनि मेरा नेपाली पाठकवृन्दलाई नेपालको विषयमा वर्तमान रूसी विद्वान् विदुषीहरूको दृष्टि उजागार गर्ने यस महत्वपूर्ण प्रकाशनबारे संक्षेपमा जानकारी दिनु आफ्नो कर्तव्य ठानेर कलम चलाउन आवश्यक ठानेको छु ।

महामारीको प्रकोप नहुँदो हो त गतः २१ अक्टोबरमै लेपालको पहिलोपल्ट यात्रा गर्ने र आफ्ना लेखहरूमार्फत् रूसमा नेपालबारे प्रथम परिचय दिने विद्वानको १८०औं जन्मजयन्तीको सन्दर्भमा नेपाल विद्या विषयक वैज्ञानिक सम्मेलन सम्पन्न गर्ने सम्भावनालाई समेत बाध्यतावश पर सार्नु परिरहेको छ ।

यहाँ सर्वप्रथम संक्षेपमा इभान मिनाएभकै परिचय दिनु जरुरी ठान्छु । मिनाएभ आफ्नो समयका एक प्रकाण्ड प्राच्यविद् थिए । उनी संस्कृत र पाली भाषनका विज्ञ मात्र नभई यस विषयको व्याकरणका लेखक हुनुका साथै बुद्धधर्म र दर्शनका अध्येता तथा प्राध्यापक समेत थिए । उनले रूसी भाषामा बौद्ध साहित्यको अनुवाद गर्नुका साथै तीनपल्ट तत्कालीन भारत वर्षका विभिन्न देशहरुको यात्रा गरेर आधुनिक भाषा साहित्यको समेत अध्ययन गर्नुका साथै कुमाउका लोककथा सङ्कलन र नेपाल भाषा (नेवारी) को त शब्दकोष समेत तयार पारेका थिए ।

छोटकरीमा भन्ने हो भने हामी ठीक १४५ वर्षअघि नेपालको यात्रा गर्ने इभान मिनाएभलाई रूसमा नेपाल विद्याका जनकको रूपमा मान्दछौं । उनले नेपालबारे सन् १८७८ मै रुसमा प्रकाशित गरेको कृति ‘मिनाएभको नेपाल’ (वि.सं. २०२८) शीर्षकमा मेरो अनुवादमा जगदम्बा प्रकाशनबाट छापिएको थियो र पछि ‘मिनौभ र नेपाल’ शीर्षकमा पनि प्रकाशित भएको छ ।

उनको १८०–औं जन्म जयन्तीको सन्दर्भमा हाल ‘नेपालः रूसबाट हेर्दा’ नामले सेन्ट–पिटर्सबुर्गमा प्रकाशित पुस्तकबाट पनि हाम्रो देशको विभिन्न पक्षको बारेमा रूसी मित्रहरूले बढी जानकारी प्राप्त गर्ने सुनिश्चित छ । त्यसमा प्रकाशित लेखहरूको शीर्षकबाटै पनि यसको सामान्य चित्र झल्केको देखिन्छ । पुस्तकमा समाविष्ट कतिपय कृतिका लेखक–लेखिकालाई म व्यक्तिगत रूपमै चिन्दछु भन्न पाउँदा मलाई गर्वको अनुभव हुन्छ । उदाहरणका लागि पुस्तकको भूमिका लेखकद्वयमा र्गारिता आल्बेदिल र लेभबोर्किनकै नाम लिन सकिन्छ । उनीहरू दुवै जनाले नेपालको यात्रा गरिसकेक छन् ।

खास गरी रूसी विदुषी मार्गारिता अबलेदिलले नेपालमा मिनाएभले पार नचभपययात्रापथको सोल प्रत्यक्ष अवकोकन गरेकी छन् र उनले नेपाल विषयक कतिपय लेख र यसै संग्रहमा पनि ‘नेपालमा प्रथम रूसी’ (पृ. १३–२०) र ‘धर्मनिरपेक्ष राज्य घोषित नेपालमा धर्म’ (पृ. ६२–६९) शीर्षकका दुई लेखका साथै ‘नेपालःमानिस, देवता र पशुपन्छी’ (सन् २०१९) शीर्षकको पुस्तकनै प्रकाशित गरिसकेकी छन् ।

यस संग्रहमा टी. एर्माको भलखित ‘इभान मिनाएभ र रूसका लागि नेपालीे संस्कृतिको आविष्कार’ (पृ. २१–२६), एल.स्तेल्चोभा ‘रूसमा नेपालको मानवीय अध्ययन’ (पृ. २७–३५), यु.एलिखिना लिखित ‘राजकीय हर्मिटेज संग्रहालयमा संग्रहित नेपालको बौद्धकलाका आधुनिक कृतिहरू’ (पृ. ३६–४२), एन.आल्फोन्सो एवं ए.कार्लोभको संयुक्त लेख ‘राजकीय प्राच्य संग्रहालयमा संकलित नेपाली कलाकृति’ (पृ. ४३–५६), ए.ते¥युकोभा लिखित ‘राजकीय धार्मिक इतिहास संग्रहालयमा संकलित नेपाली कलाकृतिको इतिहासबाट’ (पृ. ५७–६१), ओ.खिज्न्याक लिखित ‘बौद्ध चैत्यःविकासको इतिहास तथा प्रतीक’ (पृ. ७०–९३), आ.चेल्नोकोभा लिखित ‘नेपालमा ‘रामायण’ःपरम्परा र आधुनिकता’ (पृ.९४–१११) एवं नेपालको संगीत र नाटकको क्षेत्रमा कैयौं वर्षदेखि अध्ययनरत र गहकिला लेखहरूको प्रकाशन गरिसक्ने विदुषी लिखित ‘नेपालको परम्परागत नाट्य तथा नृत्यकलाको मौलिकता’ शीर्षकको लेखसहित १० लेखहरू छापिएका छन् ।

दोस्रो खण्डमा एल.बोर्किन, सी.लित्भिनचुक र डी.मेल्निकोभबाट संयुक्त रूपमा लिखित ‘केन्द्रीय नेपालका सरिसर्प र उभयचर’ (पृ. १२३–१५०), ए.कोब्लिक, आ.रोमानोभ, भि.आर्खिपोभ र ए.मेलिखेभाबाट संयुक्त रूपमा लिखित ‘सगरमाथा राष्ट्रिय निकुञ्जःजैवभौगोलिक ‘प्राकृतिक प्रयोगशाला’ (पृ. १५१–१६२), के.मिखाइलोभ लिखित ‘हिमालयको उच्चस्थलमा स–साना गाउने पन्छीहरू…’ (पृ. १६३–१९७) शीर्षकका लेखहरू परेका छन् ।

यस प्रकार दुई खण्डमा विभाजित यस पुस्तकको पहिलो खण्ड ‘संस्कृति, परम्परा, धर्म’ शीर्षकअन्तर्गत मानविकी विषयवस्तु सम्बन्धी १० लेखहरू रहेका छन् भने ‘प्रकृति’ शीर्षकको दोस्रो खण्डमा चाहि नेपालको वनस्पति र जीवजगत् विषयक ४ लेखहरू समाविष्ट छन् । यस पुस्तकबाट रूसी मित्रहरूले नेपालको प्राकृतिक सम्पदा र संस्कृति, धर्म, परम्पराबारे नयाँनयाँ जानकारी पाउने कुरा निर्विवाद छ । यसरी हाम्रा दुवै देशका जनताले एक दोस्राको विषयमा गहन ज्ञान प्राप्त गरी परस्परिक सदभावना र मित्रताको विकासमा पनि गहकिलो योगदान पुग्नेछ ।

मिति : १ नोभेम्बर २०२०
मस्को, रूस महासंघ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *