Type to search

फोटोफिचर मुख्य समाचार स्विस/प्रवास

नेपाल सम्झाउने स्विजरल्याण्डका हिमाल र हिमनदी

Share

निराजन श्रेष्ठ / स्विजरल्याण्ड

बिहान बेलुका हिमालबाट ओर्लिएको सिर्र सिर्र चिसो हावाले शरिर स्पर्ष गर्छ । दिउँसो रनक्क घाम लाग्दा टिसर्टमै हिँड्न सकिने । मन्द तातो मौसम । शरद ऋतुको समय हो, स्विजरल्याण्डमा अहिले । सेप्टेम्बर महिनाको अन्तिम हप्तादेखि सुरु हुन्छ शरद ऋतु युरोपका धेरै देशमा । हामीले पनि यसै शरद ऋतुको समय पारेर यो वर्ष नेपाल जान तिन हप्ते छुट्टि लिएका थियौं । छुट्टीको चाँजोपाँजो अघिल्लो वर्ष देखि नै मिलाएर बसेका थियौं ।

मेरो अजि (हजुरआमा) यहि २०२० अक्टोबर पहिलो हप्तामा ९० वर्ष पुग्नुहुन्छ । उहाँको साँढे चार बिस उमेरको खुशियाली विशेष रुपमा मनाउन देश विदेशमा भएका हाम्रा सम्पूर्ण आफन्तहरु अक्टोबर पहिलो हप्ता नेपाल जाने कार्यक्रम बनाएका थियौं । परिवार सारै ठूलो भएकाले देशविदेशमा भएका सबै आफन्तहरु एकै साथ भेट हुन गाह्रो थियो । समय समयमा हाम्रो पारिवारिक भेटघाट गर्न यस्तै कुनै न कुनै कार्यक्रम गर्दै आएका छौँ । हामी सारै उत्साहित थियौं नेपालमा सबै आफन्तजनलाइ भेट्न । धेरै योजना कोरोना महामारीले स्थगित भए झैँ यो योजना पनि स्थगित गर्नुपर्ने भयो । अजिको ९० वर्षको कार्यक्रम पनि सारियो ।

कोरोनाका कारण स्विस सरकारले स्विस नागरिकलगायत स्विजरल्याण्डमा बसोबास गर्ने सबैलाई स्विसभित्रै छुट्टि मनाउन अनुरोध गर्‍यो । हामीपनि अरु देश जाने कुरै भएन । त्यसैले हप्तादिन स्विसको भालिस जिल्लामा पर्ने एक सानो गाउँ “ब्लात्तेन बेल आल्प” जाने निधो गर्‍यौं । हिमालमा छुट्टी मनाउनेकालागि बनेका घरमध्ये एक पुरानो काठे घर बुक गरियो ।

१३२७ देखि १५४२ मिटर माथिसम्म रहेको यस सुन्दर गाउँ धेरैजसो काठैकाठले बनेका घरहरुले भरिएको छ । यस गाउँमा १४ औं शताब्दिदेखि बस्दै आएका स्विसहरुको संख्या जम्माजम्मी २९२ मात्र छ । ब्लाटेन २०११ सम्म ९० ददशमलव ७ वर्ग किलोमिटर थियो । धेरैजसो डाँडाकाँडा र खोल्साले गर्दा ८१ दशमलव एक प्रतिशत अनुत्पादक भूमि रहेपनि ८५ प्रतिशत आय पर्यटकिय स्रोतबाट हुन्छ । स्की, हाइकिन, ट्रेकिंग र स्विसकै ठूलो हिमनदीले प्रख्यात रहेको छ ।

सेप्टेम्बर २५ गते शुक्रावार बिहानै “ब्लात्तेन बेल आल्प ” तिर लाग्यौं हामी । जब “ब्लात्तेन बेल आल्प ” डाँडाको घुमाउरो बाटोमाथि हाम्रो गाडी चढ्यो तब बेतोडले पानी पर्ने, हावा हुरी चल्ने र हिउँ पर्न पो थाल्यो । छिन छिनमा भएको बदलिँदो मौसमका कारण उकालो घुमाउरो बाटोमा हाम्रो गाडीको गति सारै कम हुँदै उकालो चढ्दै गयो । हामी पछिका कयौं गाडीहरुको स्थिति पनि हाम्रै जस्तो थियो ।

नेपालमा ६ ऋतु भएपनि युरोपमा ४ ऋतु हुन्छन् । युरोपभरिको क्यालेन्डर अनुसार आधिकारिक रुपमा २२ सेप्टेम्बर देखि डिसेम्बरसम्म तिन महिना शरद ऋतुको समय चल्छ । डिसेम्बर देखि मार्चसम्म तिन महिने जाडो यामको समय हुने गर्छ । तर अचानक शरद ऋतु सुरु भएको केहि हप्तापनि नहुँदै जाडोयाम सुरु भएको अनुभव भएको छ । २२ सेप्टेम्बर सम्म २५ देखि ३० डिग्रीबिचमा भएको स्विसको तापक्रम २५ सेप्टेम्बरबाट अचानक आठ देखि बाह्र डिग्रीमा झर्यो । १८ सय मिटर भन्दा माथिका डाँडाहरुमा २५ सेन्टिमिटर भन्दा बढि हिउँ परेको देख्दा हामीले यो एक हप्ते बिदामा के गर्ने कसो गर्ने मेसो पाउनै सकेनौं । “भाग्यमानीको भुतै कमारो” भने झैँ गएको एक दिन पछि फेरि मौसम अचानक खुल्यो । घाम लागेर झलमल्ल भयो । न्यानो बढ्यो ।

स्विजरल्याण्डको दक्षिण पश्चिम छेउमा पर्ने भालिस तेस्रो ठूलो क्यान्टोनमा पर्दछ । यहाँ फ्रान्सेली र जर्मन भाषा बोल्छन् । धेरै जसो भूभाग ठूलाठूला डाँडाकाँडाले भरिएकोले यो क्षेत्र प्रोफि ट्रेकरहरुको लागि प्रख्यात मानिन्छ । ति डाँडाकाँडाहरु इटालीका पहाडसम्म पुगेर जोडिएको छ ।

स्विजरल्याण्ड र नेपाल भौगोलिक हिसाबमा समान भएर होला, अझ भालिस जिल्लामा पुग्दा त नेपालनै पुगेको अनुभूति हुन्छ । नेपालको जस्तै ठूला हिमनदी, अग्ला डाँडाकाँडा । हिमालबाट झरेका झरनाको छङछङ बग्ने कन्चन पानी । भेडाबाख्राको ताँती । टरलङ टरलङ घण्टी बजाएका गाईहरुको बथान । यतै उतै खोलानाला । नेपालकै जस्तो आधारमा बनाइएको झोलुङ्गे पुलहरु । किसानहरुले कृषि क्षेत्रमा सिंचाई गर्ने तरिकाहरु । काठका पुराना घरहरु । त्यहाँका शिष्ट स्वभावका बासिन्दा । माथि डाँडाबाट देखिने थुम्कै थुम्काका दृश्यहरु । आहा ! यति सुन्दर छ यो क्षेत्र कि शब्दमा वर्णन गर्न हम्मेहम्मे पर्छ ।

अझ भन्नु पर्दा “ब्लात्तेन बेल आल्प” गाउँबाट हिमनदी पुग्नलाइ किसानहरुले कृषि गरेको बाटैबाटो हिँड्दै जाँदा नेपालमा किसानहरुले खेतमा कुलो बनाएर सिचाई गर्ने तरिकाको झल्को दिन्छ । नेपालमा ८१ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । स्विजरल्याण्डका मुख्य शहर बाहिर लाग्नासाथ जतापनि क्रिषी क्षेत्र देखिन्छ । तैपनि अचम्म के लाग्यो भने स्विजरल्याण्ड जम्मा चार दशमलव ६ प्रतिशत मात्र क्रिषीमा निर्भर रहेछ ।

युनेस्को वल्ड हेरिटेजमा पर्ने स्विस आल्प्स युङ्गफ्राउ – अलेच अरेना नामक स्विसकै ठूला हिमनदी भएको क्षेत्रमा पर्छ । यहि हिमनदी हेर्न किसानहरुको बाटै बाटो हुँदै, डाँडाका खोल्सा पार गर्दै बेर्गस्टेसन एगीसहर्ण २८६९ मिटर माथि पुग्यौं हामी । यो स्थान ३६० डिग्री को पानोरामा देखिने भ्यु पोइन्ट हो । यस स्थानबाट स्विसकै अग्ला ठूला हिमालहरु र फराकिलो हिमनदीहरुको पानोरामा देखिन्छ । जब यो ठाउँमा जो कोहि पुग्छ प्रकृतिको अवर्णनिय सुन्दरताले पागल बनाउँछ । आनन्द दिन्छ । यो हाम्रो छुट्टिमा नेपाल जान नपाए पनि नेपाल गएर आएकै जस्तै मिठो अनुभव हामीलेपनि लियौं ।

स्विस बस्ने होस् या घुम्न आउने जो कोहि एक पटक पुग्नैपर्ने ठाउँ हो यो । यो भ्यु पोइन्ट -एगीसहर्णजान फ़िएअस भन्ने स्टेसनमा ओर्लने र गोंडल लिएर जान सकिन्छ । वा अरु भ्यु पोइन्ट होहबिल, होफ्लु, मओसफ्लु, बेटेमरहोर्ण, फ़ुर्गुल्ति बेर्ग जस्ता ठाउँबाटपनि दृश्यावलोकन गर्न नसकिने होइन । यस भ्यु पोइन्टहरुमा जान स्विसको जुनै ठाउँबाट पनि रेल सन्जाल जोडिएको छ । कि त ग्लासिएर एक्सप्रेस रेल लिएरपनि त्यहाँ पुग्न सकिन्छ ।

-नेपालप्लसबाट

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *