युरोपमा नेपाली फेशन डिजाइनर उत्कृष्ट घोषित
Share

-प्रकाश तिवारी ,१८ सेप्टेम्बर, बेल्जियम,
नेपाली चेली आरती प्रधान काफ्लेको फेशन डिजाइनिङ्ग युरोपमा उत्कृष्ट बनेको छ। बेल्जियममा भएको मिस ग्राण्ड शोको फिनालेमा आरतीले सबै प्रतिष्पर्धीहरुका लागि पोशाक डिजाइन गरेकी थिइन्। विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मध्ये एक मानिएको यस प्रतियोगिताको बेल्जियम संस्करणमा आरतीले तयार पारेका पोशाकहरु निकै आकर्षक बनेपछि अहिले उनको निकै चर्चा चुलिएको छ।
करिब तीस वर्षदेखि युरोपमा बस्दै आएकी आरतीको फेशन डिजाइनिङ्गको सुरुवात नेपाल रहदा देखिनै गरेकी हुन्। युरोप पुगेपछि भने यसलाई निरन्तरता दिन सकेकी थिइनन्। दुई वर्ष अगाडि बेल्जियमकै अन्तोर्पेन शहरमा भएको इनास युरोपको युरोप महादेशस्तरिय प्रतियोगिताबाट उनले आफ्नो शिल्पी क्षमतालाई पून: निरन्तरता दिइन्। नेपाली ढाका मिश्रित आकर्षक पोशाकहरुमा कलाकारहरुले स्टेज वाल्क गरेपछि निकै प्रशंसा पाएकी उनी यति बेला युरोपभरिनै चर्चाको शिखरमा पुगेकी छिन।
यस प्रतियोगितामा आरतीले डिजाइन गरेका पोशाकहरु सहित प्रतिष्पर्धामा उत्रिएकी तिबेतियन मूलकी २० वर्षीय जोम्की तेन्जिनले मिस ग्राण्ड इन्टरनेशनल बेल्जियमको उपाधि जित्न सफल भएकी छिन ।


