Type to search

मुख्य समाचार स्विस/प्रवास

परराष्ट्रको पत्रअनुसार नै एकताको महाधिवेशन हुनुपर्छ : उपेन्द्र महतो

Share

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार एकता महाधिवेशन गर्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनएको एकता महाधिवेशनको निर्देशनसहित पत्र पठाएपछि, महतोले यसलाई संघको दीर्घकालीन हितका लागि सकारात्मक अवसरका रूपमा व्याख्या गर्दै सबै पक्षलाई यसमा सहभागी हुन आह्वान गरेका छन् ।

महतोले एनआरएनएलाई संस्थामात्र नभई विदेशमा रहेका नेपालीहरूको अभियानका रूपमा चित्रण गरे । उनले भने, ‘एनआरएनए भनेको विदेशमा सिकेको सिप र कमाएको पुँजी नेपालमा ल्याएर देशलाई समृद्ध बनाउन खोज्ने अभियान हो ।’ उनले संघमा देखिएको विवाद र मतभेदलाई सामान्य ठहर गर्दै भने, ‘केही मानिसहरूको व्यक्तिगत स्वार्थका कारण संघमा अप्ठ्यारो पर्न गएको छ, तर यो ८० लाख नेपालीको साझा संगठन हो, जसको मनमा नेपाललाई समृद्ध बनाउने उद्देश्य मात्र छ ।’
महतोका अनुसार, १००–२०० जना व्यक्तिहरूले संघलाई विभाजन गर्न खोजे पनि बाँकी सबै नेपालीहरू एकताको पक्षमा रहेका छन्, र संघलाई अघि बढाउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन गर्ने निर्देशन दिएकाले यसलाई संघलाई पुनः एकताबद्ध बनाउने महत्त्वपूर्ण अवसरको रूपमा महतोले व्याख्या गरे । ‘अदालतले एकताको महाधिवेशन गर्न भनिसकेपछि सबैलाई सजिलो भएको छ, र यो अवसरलाई सदुपयोग गर्दै संघलाई मिलाएर अघि बढ्नुपर्छ,’ महतोले भने । उनले अहिलेका सबै विवादहरूलाई पर सारेर एकता महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे ।
महतोले परराष्ट्र मन्त्रालयले दिएको निर्देशनलाई सर्वोपरि ठहर गर्दै यसै आधारमा एकता महाधिवेशन गर्नुपर्ने बताए । उनले भनाइमा जोड्दै भने, ‘अहिले कुनै पनि सभाहरू गरेर मनमुटाब बढाउनुहुँदैन, हामी सबैले परराष्ट्रको निर्देशनअनुसार अघि बढ्नुपर्छ ।’
महतोका अनुसार, अदालतले एकताको महाधिवेशनको मिति तोकिसकेको छ, र अब सबैले शेष घलेको नेतृत्वमा उच्चस्तरीय समितिको मार्गदर्शनमा महाधिवेशनको तयारी गर्नुपर्छ ।

महतोले अदालतको फैसलालाई आ–आफ्नो किसिमले व्याख्या गरेर समाधान खोज्न नहुने उल्लेख गरे । ‘अदालतले एकताको मार्ग देखाइदिएको छ, त्यसैले हामी सबैले मिलेर अघि बढ्नुपर्छ। जब हामी एक भएर अघि बढ्छौं, अदालतका सबै मुद्दाहरू आफैं समाधान हुन्छन् ।’
महतोले अहिले गठन भएको अर्को संस्था, ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडिओ)का सदस्यहरूलाई पनि एनआरएनएको एकता अभियानमा समावेश हुन आह्वान गरे । उनले भने, ‘त्यहाँका साथीहरू पनि एकताको अभियानमा सामेल हुनुपर्छ, किनकि एनआरएनएको एकताबद्ध भविष्य नै नेपालको समृद्धिका लागि महत्त्वपूर्ण छ ।’


एनआरएनएको एकताको विषयमा दायाँ बायाँ नगरौं : कुल आचार्य
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई अपरिहार्य ठहर गर्दै सबै पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनए एकता महाधिवेशन गर्ने प्रस्तावसहित पूर्वअध्यक्ष शेष घलेलाई पठाएको पत्रलाई उनले सकारात्मक कदमका रूपमा स्वागत गर्दै संघको एकताबद्ध भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आचार्यले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै गैरआवासीय नेपाली संघलाई एकताबद्ध बनाउन एकता महाधिवेशन अपरिहार्य भएको बताए । उनी भन्छन्, ‘हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन। अबचाहिँ सच्चिएर अघि बढ्नुपर्छ ।’ एनआरएनएलाई अघि बढाउन सबै नेताहरू र सदस्यहरूले आफ्नो अडान र व्यक्तिगत स्वार्थलाई छाडेर संघको बृहत्तर हितका लागि एकताको महाधिवेशनमा सहभागी हुनुपर्ने कुरामा उनले जोड दिए ।

आचार्यले एनआरएनएमा साधारणसभा गर्ने पक्षमा रहेका बद्री केसी र उनका समर्थकहरूले पनि आफ्नो अडान र घमन्डलाई छाडेर संघको हितमा एकताको लागि अघि बढ्नुपर्ने बताए । उनले भने, ‘उहाँहरूको विचार होलान् तर संघलाई एकताबद्ध बनाएर अघि बढाउन सकिएको छैन। त्यस कारण उहाँहरूले आफ्नो अडानलाई छाड्नुपर्छ ।’ उनले संघका लागि सबैले उदार हृदयले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

परराष्ट्र मन्त्रालयको पत्रपछि शेष घले नेतृत्वमा एकता महाधिवेशन हुने संकेत देखिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो, जसको नेतृत्वमा शेष घले रहेका छन् । यसबारे संस्थापक अध्यक्ष सहितका अभियन्ताहरुसँग पनि छलफल भइसकेको जानकारी आचार्यले दिएका छन् ।

आचार्यका अनुसार, एनआरएनएलाई एकताबद्ध नगरेसम्म संघको हितमा काम गर्न नसकिने र नेपालको विकास र समृद्धिमा समेत यसको नकारात्मक असर पर्नेछ । उनले भने, ‘एनआरएनए एकता नभएसम्म यो संस्थाको हित हुन सक्दैन र नेपालको समृद्धिमा साझेदार बन्ने कुरामा पनि ठूलो आघात पर्न सक्छ ।’
आचार्यले संघलाई चलायमान राख्न र देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थलाई छाड्न सबैलाई आह्वान पनि गरे । उनले एनआरएनएको एकता महाधिवेशन आगामी ६ महिनाभित्रै हुने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतले वैधानिकता नदिएको एनआरएनएको १०औं महाधिवेशनबाट चयन भएका तीन अध्यक्षमध्येका एक, आचार्यले अब संघलाई कानूनी र वैधानिक रूपमा अगाडि बढाउन एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन । संघको एकताबद्ध भविष्यका लागि हामीले सबैलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।’
आचार्यले एनआरएनएको एकताको महाधिवेशन सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्दै यो महाधिवेशन संघको दीर्घकालीन हितका लागि अत्यन्त महत्वपूर्ण भएको बताए ।

1 प्रतिक्रिया

  1. Talon Krajcik November 6, 2024

    What i dont understood is in reality how youre now not really a lot more smartlyfavored than you might be now Youre very intelligent You understand therefore significantly in terms of this topic produced me personally believe it from a lot of numerous angles Its like women and men are not interested except it is one thing to accomplish with Woman gaga Your own stuffs outstanding Always care for it up

    Reply

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *