Type to search

मुख्य समाचार समाचार

वीपी राजमार्गमा फोहोर फाले कार्वाही

Share

भकुण्डेवेशी नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने निर्णयसहित सचेत गराएको हो ।

नगरपालिकाले वीपी राजमार्ग सरसफाई सञ्चालन गरिरहेको छ । सो राजमार्ग भएर जाने सार्वजनिक र नीजि यातायातका साधन र यात्रुले जथाभावी फोहोरजन्य सामाग्री फाल्न थालेपछि नगरपालिकालको बजार व्यवस्थापन कार्यविधी, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । तत्कालिन संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघवीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा भएको समझदारी अनुसार सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रु तथा यातायात मजदुरहरु समेतहरुले यात्राका समयमा प्रयोग गर्ने पानीका बोतलहरु, खानेकुराका अवशेषहरु, पलाष्टिकका झोलाहरु आदी फोहोरमैलाजन्यबस्तुहरु झ्यालबाट फ्याँक्ने, बसपार्कमा जथाभावी फाल्ने गर्नाले फोहोर भएको भन्दै सो रोक्ने व्यवस्था गराउने उल्लेख छ । उक्त क्रियाकलाप नगरेमा, अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारी चालक वा यात्रुलाई कारवाही हुने उक्त समझदारीमा उल्लेख छ ।

नगरपालिकाले बुधबार कार्यक्रम नै गरेर सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेका थिए । नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले लगायत कर्मचारीहरु, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज प्रहरी नायव निरिक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कार्वाही गर्ने बताएका हुन् । राजमार्गमा चल्ने सबै सवारी साधन र यात्रुलाई सचेत गराएर कार्यान्वयन नभए कार्वाही गर्ने तयारी नगरपालिकाको छ । नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *