Type to search

समाचार स्विस/प्रवास

नि:शुल्क सदस्यता र अनलाईन भोटिङको अवधारणामा विस्तृत छलफल गराउ : यूरोप क्षेत्रीय सम्मेलन

Share

गैरआवासीय नेपाली संघ (एनआरएन) यूरोप क्षेत्रीय सम्मेलनले निशुल्क सदस्यता, अनलाइन भोटिङ, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरि अघि बढाउन संघलाई सुझाब दिएको छ ।
गत शनिवार र आइतबार भएको १३ औं यूरोप क्षेत्रीय बैठक तथा दोस्रो ज्ञान सम्मेलनपछि यूरोप संयोजक नारायण आचार्यले जारी गरेको घोषणामा संघको प्रस्ताब माथि विस्तृत छलफल गराउन सुझाब दिएको हो । सो सम्मेलनले एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन आइसीसीलाई अनुरोध गरेको छ ।

प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक र दोश्रो ज्ञान सम्मेलन सम्पन्न भएको छ। “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” नारा दिईएको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।

नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सम्वोधन गर्नु भएको थियो ।

विज्ञ सम्मेलनको उद्घाटन शिक्षामन्त्री गिरीराजमणि पोखरेलले गर्नु भयो भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्व मंत्री तथा नेकपा नेता डा गंगाधर तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, युरोपका बिबिन्न देशमा कार्यरत राजदूतज्यूहरु, एनआरएनएका केन्द्रीय पदाधिकारीहरु, पूर्व अध्यक्षज्यूहरु, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा आम गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै एनआरएनएका युरोप सन्योजक नारायण आचार्यले बैठक सफल बनाउन आआफ्नो क्षेत्रबाट गर्नु भएको सहयोग र सहभागिताका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

कोभिड-१९ महामारीका कारण प्रत्यक्ष जम्मा हुन सम्भब नभएकोले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले गरेका निर्णयहरु बुदागत रुपमा निम्न रहेका छन ।१. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका गैर आवासीय नेपाली अभियन्ताहरु, प्रवासी नेपाली संघसंस्था, नेपाली समुदायका अगुवाहरु, नेपाली नियोगहरु लगायत सम्बन्धित सबैको उच्च सम्मान गर्दै यो बैठक उहांहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेकाले सुरक्षित रहन सबै गैर आवासीय नेपाली समुदायलाई यो बैठक आग्रह गर्दछ।२. संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भै संसदको विचाराधीन रहेको ‘गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन’ लाई “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसंग जोड्ने प्रावधान सहित यथाशिघ्र पारित गर्न सबै सांसदज्यूहरु तथा प्रमुख राजनीतिक दलहरुलाई यो बैठक आह्वान गर्दछ।३. सन् २०१९ मा नेपाल सरकारको आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानी गर्न समेत यो बैठक आह्वान गर्दछ ।
४. युरोपले एक अल्पविकसित मुलुकका रुपमा नेपाललाई सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिएको तर त्यसको पर्याप्त उपयोग गर्न नसकिएकाले नेपालका हस्तकला, पश्मिना, चिया, कफी लगायतका उत्पादनहरुको निर्यात युरोपेली बजारमा वृद्धि गर्न र र आआफ्नो घरमा नेपाली उत्पादनहरुको प्रयोग बढाउन प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरुले विशेष भूमिका निर्वाह गर्ने निर्णय गर्दछ। यसैगरी संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवर्धन गर्न संसारका धेरैजसो देशहरुसंग दोहोरो कर तिर्नु नपर्ने सम्बन्धि सन्धि (Double Taxation Avoidance Agreement), लगानी प्रवर्धन सम्बन्धि सन्धि (Investment Promotion Agreement) हरु गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ।

५. नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटनक्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारको रुपमा काम गर्न गैर आवासीय नेपाली संघ तत्पर रहेको बताउंदै उक्त रणनीतिमा आन्तरिक पर्यटनसंगै एनआरएन पर्यटनको विषयलाई पनि अरु स्पष्टरुपमा उल्लेख गर्न यो बैठक अनुरोध गर्दछ।

६. विगत केही वर्ष देखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहक लगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइ रहेकोमा यथाशिघ्र सो प्रतिबंध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ।

७. नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन समेत यो बैठक अनुरोध गर्दछ। युरोपस्थित नेपाली नियोगहरु तथा युरोपमा रहेका नेपाली समुदायबीच निकट सहकार्य गर्दै मिलेर अगाडी बढ्न यो बैठक आह्वान गर्दछ ।

८. युरोपस्थित गैरआवासीय नेपाली संघ महिला फोरमले महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागितालाई अरु वृद्धि गर्दै जाने निर्णय गर्दछ । ’कोभिड १९’ का कारण महिलाहरु अत्यधिक प्रभावित भएको र महिला बेचबिखन तथा नेपाल भित्रै देहव्यापारमा महिला, बालवालिकालाई संलग्न गराउने प्रवृत्ति बढ्दै गएकाले जनचेतना जगाई यस्ता विकृति नियन्त्रण गर्न प्रभावकारी कार्यक्रममा ल्याउन यो बैठक माग गर्दछ ।

९. युरोप क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न उपयुक्त वातावरण बनाउन पहल गर्दै यस्ता प्रयासहरुलाई ठोस सहयोग गर्न एनआरएन केन्द्रलाई यो बैठक अनुरोध गर्दछ । साथै हाल विदेशमा हुर्कीरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्यलाई अरु विस्तारित र संस्थागत गर्न यो बैठक अपील गर्दछ ।

१०. ब्रिटिश सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुसंग रहेको सीप, अनुभव र पूँजीलाई मातृभूमिको विकासमा परिचालन गर्ने ठोस प्रयासहरुको आवश्यकता रहेको महसुस गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नागरिकताको निरंतरताको विषयलाई नेपाल तथा ब्रिटिश सरकारबीच कूटनीतिक माध्यमबाट यथाशिघ्र सुनिस्चित गर्न र सो कार्यमा हरसम्भव सहयोग गर्न एनआरएनए प्रतिबद्धता व्यक्त गर्दछ।

११. गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको सृजना गर्न तथा नेपाल सरकारले अगाडी सारेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सार्थक पर्न आआफ्नो ठाउँबाट सघाउन यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्दछ ।

१२. कोभिड-१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै ५ लाख नेपालीहरुलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरु तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान संचालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ।

१३. कोभिड -१९ शुरु भएको ६ महिना बितिसक्दा अहिले खाडी, मलेसिया लगायतका मुलुकमा रोजगारी गुमाएका लाखौं नेपाली नेपाल फर्कन पर्खि रहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, आर्थिक अभाव बेहोरी रहनु भएका नेपालीहरुलाई निशुल्क उडानको व्यवस्था मिलाउन तथा नेपालीहरुका प्रमुख चाड दशैं, तिहार अगावै अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न यो बैठक नेपाल सरकारसंग आग्रह गर्दछ। कोभिड-१९ का कारण विदेशमा निधन भएका नेपाली नागरिकहरुको तथ्यांक स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिने विवरणमा समावेश गर्न यो बैठक आग्रह गर्दछ। त्यस्तै वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन गैर आवासीय नेपाली संघले विभिन्न कालखण्डमा पेश गरेका बुंदाहरुमा मंत्रीस्तरीय निर्णय भै सकेर पनि लागू नभएका विषयहरु तत्काल लागू गर्न यो बैठक आग्रह गर्दछ।

१४. स्थापना भएको १७ वर्ष पुरा हुंदै गर्दा एनआरएनएलाई रुपान्तरण गर्नु पर्ने आवश्यकताबारे यो बैठकमा व्यापक छलफल गरियो। एनआरएनको वर्तमान नेतृत्वले अगाडी सारेको निशुल्क सदस्यता, भोटिङ, अनलाइन , स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरी एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन यो बैठक आइसीसी केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

१५. गैर आवासीय नेपाली अभियानमा नेपाल तथा संसारभरि रहेका संचारकर्मीहरुको योगदानको उच्च मूल्यांकन गर्दै एनआरएनए तथा संचार माध्यमहरुबीच नियमित अन्तरक्रिया, सामाजिक संजालको जिम्मेवारीपूर्ण रुपमा प्रयोग तथा सहकार्य, सहयोग र समन्वयका लागि यो बैठक आग्रह गर्दछ।

१६. यो बैठक संघका सबै क्षेत्रहरुमा क्षेत्रीय आपतकालीन कोष निर्माण गर्नका लागि एनआरएनए केन्द्रलाई सुझाव दिने निर्णय गर्दछ।

१७. अक्टोबर ४ मा सम्पन्न दोश्रो ज्ञान सम्मेलनमा पांच ओटा विभिन्न विषयगत सत्रहरुमा नेपाली तथा गैर आवासीय नेपाली विज्ञहरुले प्रस्तुत गरेका विभिन्न कार्यपत्रहरुमाथि व्यापक छलफल भयो। कोभिड-१९, जलवायु परिवर्तन, नवीकरणीय उर्जाको विकास, वातावरण संरक्षण, पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा रहेका सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरु लगायतका साझेदारहरु र विदेशमा रहेका गैर आवासीय नेपाली विज्ञ तथा संस्थाहरुसंग निकट सहकार्य गर्न यो बैठक आह्वान गर्दछ। कोभिड-१९ का कारण नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरु देखिएकाले एनआरएनएको स्वास्थ्य समितिसंग समन्वय गरी संचालित चेतनामूलक कार्यक्रमहरुलाइ नियमितता दिन यो बैठक आग्रह गर्दछ। नेपालको आधुनिकीकरण र समृद्धिका लागि विज्ञान र प्रविधिको विकास तथा प्रयोगमा जोड दिन पनि यो बैठक आग्रह गर्दछ।

१८. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, संघको केन्द्रिय कार्यालय, आइटी टिम, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंसेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *