Type to search

समाचार

टुकाेनले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Share

काठमाडाैं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकाेन)ले यातायात सहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकाे टाेलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
टुकाेनद्वारा पेश भएकाे ज्ञापनपत्रमा भनिएको छ – `कोरोनाको दोश्रो लहरको महामारीसँगै राज्यद्वारा गरीएको निषेधाज्ञाले गर्दा रोग, शोक र भोकले व्याकुल भएका यातायात क्षेत्रका स्वरोजगार सहित सम्पूर्ण श्रमिकहरूको तपशिल बमोजिमका समस्या सम्बोधन गर्नका लागि ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) यो ज्ञापन पत्र मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१. कोरोना महामारीको कारणले गर्दा राज्यद्वारा गरीएको निशेधाज्ञा सँगै व्यवसाय संचालन गर्न नपाएर बेहाल भएका यातायात क्षेत्रका सम्पूर्ण स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधीभरको सवारीसाधनको बैंक ब्याज मिनाह गराई सवारीसाधन निर्बाध संचालनमा आएको ६ महीना सम्म बैंकको किस्ता बुझाउँन सरलीकरण गराइयोस् ।
२.  निषेधाज्ञाले गर्दा रोजगार विहीन भएर भोकले आक्रान्त भएका यातायात क्षेत्रका सम्पूर्ण सवारी चालक, परिचारक एवं सहचालकहरुलाई तत्काल यथोचित राहतको व्यवस्था मिलाईयोस् ।
३. निषेधाज्ञा अवधीमा पनि मापदण्ड निर्धारण गरेर हवाई सेवा संचालनमा ल्याइए जस्तै लामो तथा छोटो दूरीका, दिवा एवं रात्रिक़ालीन सेवाका सम्पूर्ण सवारीहरु तत्काल संचालनमा ल्याऊन यथोचित व्यवस्था मिलाईयोस् ।
४. यातायात सहित सम्पूर्ण क्षेत्रका श्रमिकहरुलाई यो वा त्यो बहानामा नअल्झाइकन  सिघ्रातिसिघ्र सामाजिक सुरक्षा योजनामा अनुवन्धित गराउने व्यवस्था गराउनको लागि रोजगारदाताहरुलाई वाध्य तुल्याइयोस् ।
५. संगठित एवं असंगठित क्षेत्रका सबै श्रमिकहरुलाई  कार्यस्थलमा नै पायक पर्नेगरी स्थानीय सरकारद्वारा कोरोना विरुद्धको खोप, औषधोपचार सहित राहतको व्यवस्था तत्काल मिलाइयोस् ।
माथी उल्लेखित सम्पूर्ण मागहरु तत्काल सम्बोधन गरी रोग, शोक र भोकले छट्पटाईरहेका श्रमिकहरुको घाउमा मलम लगाउने काम गरियोस्, अन्यथा श्रमिकहरुको धैर्यताको बाँध टुटेर निम्तन सक्ने समस्याको जिम्मेवार राज्य स्वयं हुनु पर्नेछ ।´

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *