Type to search

मुख्य समाचार

संसद विघटन बदनियतपूर्ण र जनमतको घोर अपमानः नेपाली कांग्रेस

Share

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारको निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ ।

संसद विघटन गर्ने निर्णय घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भएको कांग्रेसको निष्कर्ष छ ।

गत निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि कांग्रेसले जनाएको छ ।

नेकपा सरकार सञ्चलनमा अक्षम रहेको निष्कर्ष निकाल्दै कांग्रेसले भनेको छ, ‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरीत कार्यहरुको श्रृंखलाको निरन्तरता हो ।’

कोभिड-१९ को महामारीले नागरिक पीडामा रहेका बेला नेकपा नेतृत्वको सरकार जनजीविकाको विषयबाट विमुख र निरपेक्ष हुँदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रहेको आरोप पनि कांग्रेसको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अर राजनीतिक दलहरूसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *