Type to search

मुख्य समाचार

पूर्वआइजिपी खनालसहित दुई सांसदविरूद्ध अपहरणको जाहेरी काठमाडौं प्रहरीले लिएन

Share

काठमाडौं, वैशाख १४ । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्यनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी लिन अस्वीकार गरेको छ ।सांसद एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई खनाल र सांसदद्वयले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै नवगठित जनता समाजवादी पार्टीका नेताहरु आइतबार जाहेरी दिन परिसर कार्यालय टेकु पुगेका थिए ।

तर प्रहरीले भने घटना महोत्तरीमा भएको भन्दै उतै उजुरी दिन भनेको छ । काठमाडौं परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवालीले भने जाहेरी ठाडै अस्वीकार गरेको पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराईले जानकारी दिए ।

भट्टराईले सञ्चारकर्मीहरुसँग भने, ‘एसएसपीले जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरिदिनुभयो । उहाँलाई थाहा छ जाहेरी दर्ता गर्नुपर्छ भन्ने तर उहाँलाई माथिबाट आदेश आएको छ । ओलीतन्त्रमा प्रहरी/कर्मचारी सबै डराएका छन् ।’प्रहरीले जाहेरी लिन नमानेपछि टेकुबाट फर्किका सांसद डा. यादवसहितका जसपाका नेताहरु अब के गर्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् । डा. यादवको साथमा जनता समाजवादी पार्टीका नेताहरू डा. भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता प्रहरी परिसर गएका हुन् ।

परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भने पनि कार्यालय समय सकिने समयतिर कार्यभार सम्हाल्न काठमाडौं प्रहरीमा पुगेका एसएसपी श्याम ज्ञवालीले भने ठाडै अस्वीकार गरेको आरोप डा.भट्टराईले लगाएका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले घटनाको सुरुवात महोत्तरीबाट भएकाले त्यहीँ जाहेरी दिन भन्दै परिसर पुगेका नेताहरुलाई फर्काइदिएका हुन् ।यसअघि प्रहरीले उजुरी लिन नमानेको भन्दै जाहेरी दिन प्रहरी परिसरमा पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले  ट्विटरमा लेखेका थिए, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

समाजवादी पार्टी फुटाउने उद्देश्यका लागि गत बुधबार खनाल, बस्नेत र श्रेष्ठले सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए । तर त्यसबीचमा समाजवादी पार्टी र राजपाको एकीकरण घोषणा भइसकेको थियो भने काठमाडौंको होटल मेरियटमा राखिएका यादव सुटुक्क आफ्ना नेताहरुको सम्पर्कमा पुगेका थिए ।पूर्वआइजिपी खनाल, पूर्वमन्त्री वस्नेतले भने यादवलाई अपहरणको आरोप अस्वीकार गर्दै यादवले काठमाडौं आउन चाहेकाले ल्याइदिएको तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *