Type to search

मुख्य समाचार

नेकपाको स्थायी समिति बैठक बोलाउने निर्णय

Share

काठमाडौं, बैशाख २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गरेका छन् ।

बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि उपयुक्त समय कुरिने बताइएको छ ।

यसअघि १७ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नै बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ । 

प्रवक्ता श्रेष्ठले पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गरेको जानकारी दिए ।

अर्का अध्यक्ष दाहाल र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने निर्णय भएको छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *