Type to search

मुख्य समाचार

नायिकाद्वारा यौन दुर्व्यवहारको आरोप

Share

काठमाडौं, असार १७ । नेपाली चलचित्र क्षेत्रमा यौन दुर्व्यवहारको आरोप लाग्नु नौलो होइन ।

बेला–बेलामा चर्चित र नाम चलेका कलाकारबीच लाग्ने आरोप–प्रत्यारोपले नेपाली चलचित्र उद्योग अझै सुध्रिएको छैन भन्ने सन्देश दिने गरेको छ ।

युवापुस्ताले निकै रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाली चलचित्र क्षेत्र पुनः तरंगित भएको छ ।

नायिका शाहले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नायक केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

नायक भुवन केसीले भने यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

तर, उनलेपनि सामाजिक सञ्जालमै ‘खान नपाएको भन्दै ‘सामाजिक सञ्जालमा रोइ–कराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्ने जवाफ दिएका छन् ।

हुन त यौन दुर्व्यवहारको आरोप नेपाली चलचित्र क्षेत्रमा मात्र नभइ विश्वभर नै चल्ने गर्दछ ।

केही समयअघिमात्र सामाजिक सञ्जालमार्फत् फैलिएको यौनहिंसाविरुद्धको ‘मिटू’ अभियानले संसारभरका नाम कहलिएका व्यक्तिलाई समस्यामा पारिसकेको छ । मिटू अभियानले नेपालमा पनि विभिन्न चर्चित व्यक्ति विवादित भएका छन् ।

केही समयअघि चलचित्र ‘सायद–२’ की नायिका स्यारोन श्रेष्ठले सोही चलचित्रका निर्माता सुनिल रावलले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन् । उनलाई साथ दिँदै अर्की नायिका प्रकृति श्रेष्ठले पनि निर्माता रावलको नियतमाथि प्रश्न उठाएकी थिइन् ।

तर, पछि नायिका स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावलबीच सम्झौता भएपछि घटना त्यहीँ टुंगियो ।

त्यसरी नै नायिका लक्ष्मी बर्देवाले पनि एक निर्देशकबाट आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको बताएकी थिइन् । तर, सो घटना पनि त्यतिमै सेलायो ।

आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे सबैले बोल्ने हो भने पीडितले न्याय पाउनु सहज हुन्छ ।

सामाजिक सञ्जालमा एक–अर्काप्रति आरोप–प्रत्यारोप गरेर सस्तो लोकप्रियताको पछि नलागीकन जो–कोही पनि प्रमाणसहित कानुनी प्रक्रियामा अघि बढ्नु जरुरी छ ।

नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाहरुले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाउने तर कानुनी प्रक्रियामा जान नसक्दा दोषीमाथि कानुनी कारबाही हुनसकेको छैन । त्यसैले दुर्व्यवहार एउटा सस्तो प्रचारबाजीमात्र बन्ने गरेको छ ।सागर महर्जन (इमेज)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *