Type to search

मुख्य समाचार

चौरजहारी घटना सामूहिक हत्या भएको प्रहरी निष्कर्ष, ३४ जनाविरुद्ध मुद्दा

Share

काठमाडौं, जेठ ३२ । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रूरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।

यसअघि प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको किटानी गरेको छ । घटनाका प्रतिवादी ३४ मध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

उनीहरुमाथि ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत ऐनअनुसार पनि कारबाही गर्न माग गरिएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाईलगायतलाई प्रतिवादी बनाएको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको प्रहरीको भनाइ छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय बिग्रिएको पनि प्रहरीको अनुसन्धानमा छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागे पनि उनीहरुलाई छेक्न तल मान्छे राखिएको पाइएको पनि जनाइएको छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसक्रममा केटी पक्षको आक्रमणमा परी ६ जना मारिएका थिए ।
मारिनेमा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायत ६ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *