Type to search

मुख्य समाचार

गज्जब गर्‍यौ वालेन शाह !

Share
फोटो स्रोत- बालेन शाहको फेसबूक

फोटो स्रोत- बालेन शाहको फेसबूक

चार महिना अघिसम्म वर्तमान काठमाडौं महानगरका मुखिया वालेन शाहको नाम ९९ प्रतिशत नेपालीलाई थाहा थिएन । एक प्रतिशत किशोरकिशोरीहरुले उनको नाम पहिलो पटक गुगलबाट खोजेका थिए- र्‍यापर वालेन शाह । संगीत दुनियामा विदेशी र्‍यापरहरुले तहल्का मच्चाइरहेको समयमा नेपाली युवा युवतीले गुगुल गरेर आफ्नै भाषाको र्‍यापर नखोज्ने कुरै भएन । खोजे । गुगल र युट्युव मार्फत वालेन शाहले धेरै युवायुवतीलाई घर, चोक, पिकनिक र भोज भतेरमा उफारे । त्यो समय उनको परिचय त्यत्ति थियो । र धेरैलाई उनको परिचय त्यहाँ भन्दा बढी अग्लो होला भन्ने लागेको थिएन ।

दुनियामा धेरै कुराहरु यसरी भइरहन्छन जुन कसैले सोचेकै हुँदैन । तैपनि ति कुरा त्यसरी नै हुँदै जान्छन । काठमाडौंका मतदातालाई ठ्याक्कै चार महिना अघिसम्म वालेन शाहलाई हामी हाम्रो नगरको मेयर बनाउँदैछौ भन्ने कुरा अलिकती पनि भेउ थिएन । समय यसरी पल्ट्यो,  प्रलयनै भयो । उर्लपातनै मच्चियो। भलै समयले रङ फेर्नुका आफ्नै कारण छन । वालेन शाहमा त्यहाँका मतदाताले अलिकति प्रकाश जरुर देखे । त्यसपछि बालेन झन धेरै खोजि हुन थाल्यो । गत बैशाख महिनामा गुगलमा सबैभन्दा धेरै पटक खोजिएको ब्यक्ति वालेन नै हुन ।

त्यसअघि र्‍याप सुन्न चाहनेहरुले मात्र उनलाई खोज्ने गर्दथे । पछी खोज्नेहरुले उनको र्‍याप भन्दा पनि वालेनको हिम्मत खोजे, हिम्मत जुटाउन सक्ने आधार खोजे । धेरैलाई लागेको थियो अब अति भयो । बैचारिक रुपले झोक्राएका राजनितिक दल र जोश जाँगर चाउरिएका तिनका नेताहरु भन्दा गीत गाउँने एउटा लक्का जवानले बरु राजधानीलाई राजधानी पो बनाइदिन्छ कि ? दल र नेताबाट ओइलाएका जस्ता मतदाताको दिमाखमा हरियो बत्ती केहि सन्चारित भयो ।

संसारमा मतदाताको नियती नै यस्तै हुन्छ, आशै आशमा उनिहरुले आफ्नो जिन्दगी सकिएको पत्तै पाउँदैनन । काठमाडौंका मतदाताले त्यहि आशाको बाटोलाई वालेन शाहको सोचाइमा धरौटी राखे ।

हुन त काठमाडौंमा अनगिन्ती समस्या छन । राजधानी भनेको जहीं पनि त्यस्तै हुन्छ । मान्छेहरुका आवश्यकता अरु शहरमा भन्दा फरक हुन्छन । तिनै आवश्यकताहरुले समस्या उत्पन्न गर्ने गर्दछन । तर काठमाडौंको कथा अली अर्कै छ । समस्याहरु जती थरिका भए पनि फोहर ब्यवस्थापन त्यहाँको दिर्घकालिन समस्या हो । उज्यालो नहुँदै सडकमा लाम लाग्ने उदेक लाग्दो ट्राफिक र चोक चोकमा थुप्रिएको फोहरको डंगुर । कहिलेसम्म आफ्नै घर भित्र नाक छोपेर बस्ने ? यिनै समस्याहरुले वालेन शाहलाई राजधानीको मेयर बनाएको भन्दा पनि राजनीतिक दलहरुका सत्ता उन्मादले उनलाई मेयर बनायो ।

काठ्माडौंको फोहर ब्यवस्थापन त्यति सहज छैन भन्ने कुरा उनले पछी मात्र बुझे । गौंडा गौंडा कुरेर बस्ने राजनीतिक दलका अर्दलीहरुको आक्रमण उनले कल्पना नगरेको कुरा थियो । तर पनि वालेन शाहले दलहरुले छोपेर कुहाएको फोहरलाई यो चार महिनामै सतहमा ल्याए । राजनीतिक दलका नेता र कार्यकर्ताले फोहर ब्यवस्थापना गर्न नदिएको उनले सार्वजनिक नै गरेका छन । यसले के भएको छ भने जनताले आफ्नो धारणा बनाउँदैछन । किनभने चुनावमा उम्मेदवार बन्दा शाहलाई काठमाडौंको फोहरमा राजनीती गरेर पैसा कमाउनेहरुको यत्रो जंजाल छ भन्ने थाहा थिएन । जितेपछी देखे, फोहरमा पैसा फलाउनेहरुलाई कांग्रेस, एमाले र माओवादीका सुप्रिमोहरुले कसरी संरक्षण गरेका रहेछन भन्ने ।

वालेनले लडाईं शुरु गरिसकेका छन । त्यो लडाईं अब उनको मात्र रहेन । सामाजिक संजाल हेर्ने हो भने थाहा हुन्छ, राजनीतिका केही ग्याङलाई छोड्ने हो भने समाजका हरेक तप्काले उनलाई साथ दिएको छ । विहिवार दिउँसो काठमाडौंमा अवैध रुपले निर्माण गरिएका संरचनाहरुमा उनले डोजर चलाए । जरुरी थियो, यो ।

धेरै सर्वसाधारणलाई लागेको थियो, कोही त जन्मेको होला काठमाडौंमा डोजर चलाऊने । नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाइदियो । नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि बिहीबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा डोजर लगाएर त्यस्ता संरचना भत्काइएको छ । महानगरपालिकाको डफ्फा र प्रहरी सुरक्षासहित विजुलीबजार पुगेका शाहसँग अल्फाबिटाका सन्चालकको भनाभन परेको थियो। सञ्चालकले अवैध भन्नुअघि भवनको नक्सा देखाउनुपर्ने बताएका थिए । क्या बात वालेन शाह ! पछी उनले नक्सा पनि लगे, डोजर पनि लगे । संचारकर्मीहरुलाई अवैध रुपमा संचालन भएको संरचना पनि देखाए, नक्सा पनि देखाए र डोजर चलाए । डोजर चलाए पछी मेयर शाहले सामाजिक सन्जालमा लेखेका छन- “उहाँले आफ्नै नक्सा मसित माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको संरचना हटाइदिनुहोला । नक्सा जसरी पास भएको छ  त्यहि अनुसार बनाइ दिनु होला” । बस, कुरो यत्ती हो ।

नक्सा जसरी पास भएको छ त्यसरी नै आफ्ना संरचना बनाए कुनै पनि समस्या रहँदैन । समस्या राजनीतिक केही भ्रष्ट नेता, घुसखोर कर्मचारी र सिमित ब्यापारीहरुमा छ । राजधानीलाई यिनै तीन समुहले कब्जामा राखेका छन । यिनिहरुको जरो यसरी गाडीएको छ जसलाई हल्लाउन सानोतिनो हिम्मतले काम गर्दैन । यस्तै मान्छे चाहिन्छ जसमा केही न केही गर्छु भन्ने जोस भरिएको हुन्छ । कति छन होला यस्ता संरचना काठमाडौंमा ? केही ब्यापारीले मात्र यत्रो सरकारी सम्पत्ति कब्जा गर्ने हिम्म्त गरे होलान र ? पटक्कै होइन । यसबाट दलका नेताहरुले सदियौं देखि हप्ता बुझिरहेका छन । पक्कै पनि यसलाई तोड्न सहज हुने छैन । हरेक दिन वालेन शाह राजनीतिक दल र तिनका कार्यकर्ताहरुको आक्रमणको शिकार भइरहने छन । तथापी अहिले उनका लागि किन अलिकती सहज छ भने संसदिय निर्वाचन संघारमा छ र चुनाव अघि जनतालाई अप्रिय लाग्ने कुनै पनि कुराहरु राजनीतिक दल र तिनका नेताहरुले बोल्ने छैनन । यही हो सहि समय, नेताहरुको हुण्डिमा पासो थाप्ने समय ।

वालेन शाहले यदि यो बिचमा काठमाडौंलाई काँटछाँट गर्न सके भने धेरै हदसम्म आगामी चुनावको परिणाम फेरिने छ । जहिलेसम्म निर्वाचनहरुको परिणाम फेरिंदैन तवसम्म देशको कुनै पनि निकाय फेरिन सक्दैन । वालेनले जे गरेका छन, जे बोलेका छन त्यो अहिलेको आवश्यकता हो । देशको आवश्यकता। तथापी काठमाडौंमा अवैध रुपमा निर्माण भएका टहरा भत्काउनु मात्र सम्पूर्ण समस्याको समाधान भने पटक्कै होइन । समस्याको समाधान भनेको अघोरी नेताहरुको वहिर्गमन नै हो ।

वालेन पनि सधैंभरी काठमाडौंको मुखिया रहने छैनन । तर देशलाई ध्वंश बनाउने राजनीतिक दलहरुको अघोरी सोच रहिरहने छ । डोजर त्यो सोचमा पनि चलाऊन जरुरी छ । नत्र वालेन जान्छन, टहराहरु फेरि बन्छन । वालेनले जनतालाई अर्थ्याएको कुरा त्यहि अघोरी सोचका विरुद्दमा हो । जे होस सुरुवात भएको छ । काम अघि बढ्दै गयो भने सम्पन्न हुन धेरै समय लाग्दैन । जव काम हुँदै जान्छ जनता प्रत्यक्षदर्शी हुँदै जाने छ । यही हो भ्रष्ट नेताहरुको अन्त्यको शुरुवात । गज्जब गर्‍यौ वालेन शाह ।

  • साभार नेपालप्लस

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *