Type to search

मुख्य समाचार

कुवेतबाट ३०० महिलाको उद्धार

Share

काठमाडौं, जेठ २९ । कुवेतले विभिन्न कसुरमा माफी दिएका ३०० जना नेपाली महिलाहरु बिहीबार स्वदेश फर्किएका छन् ।

उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्‍याइने छ भने केहीलाई काठमाडौंकै ‘क्वारेन्टिन’मा राखिने छ ।

कुवेतमा अनधिकृतरुपमा रहेका महिलाहरुलाई कुवेत सरकारले आममाफी दिएपछि बिहीबार ३०० महिला स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उनीहरुको आ–आफ्ना जिल्लाअनुसार तय गरिएको साझा यातायातको गाडीमा चढाइएको थियो ।

यसअघि, युएईबाट उद्धार गरिएकाहरुका लागि सेनाको गाडीमा होल्डिङ सेन्टर पुर्‍याइएको थियो ।

नेपाल फर्केकामध्ये सुनसरीकी एक युवती शिक्षण पेसाका लागि पनि कुवेत पुगेकी थिइन् । तर, अरुको घरमा सहयोगीको रुपमा काम गर्न बाध्य पारिएकी थिइन् । उनी अहिले स्वदेश फर्कन पाएकोमा दंग छिन् ।

उनीसँगै अधिकांश महिलाहरु कुवेतमा अरुको घरमा सहयोगीको रुपमा काम गर्दै आएको पाइयो ।

बिहीबार फर्केका अधिकांशको ‘आरडीटी’ र केहीको ‘पीसीआर’ परीक्षण गरिएको थियो । सबैको ‘रिपोर्ट नेगेटिभ’ आएपछिमात्रै उनीहरुलाई नेपाल ल्याइएको हो ।

विदेशमा रोजगारी गुमाएर अलपत्र परेपछि नेपाल सरकारसँग हारगुहार गर्दा–गर्दा बल्ल स्वदेश फर्कन पाएकोमा सबै खुसी देखिएपनि केहीलाई भने कर्मथलो नै ठिक लागेको छ ।

कुवेतबाट उद्धार गरी ल्याइएकाहरुलाई होल्डिङ एरियामा सामाजिक दूरी कायम गरी चेकजाँचपछि उनीहरुको जिल्लामा पठाउने व्यवस्था मिलाइएको छ ।

तर, त्यहाँ पुगेपछि उनीहरुलाई ‘होम क्वारेन्टिन’ वा सरकारले तोकेको क्वारेन्टिनमा राखिन्छ, त्यो भने स्पस्ट छैन ।

स्वदेशमा उनीहरुलाई रोजगारीको अवसर जुर्ला/नजुर्ला तर विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन सरकारले गरेको प्रयास भने सराहनीय छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *