Type to search

मुख्य समाचार

कर तिर्न लगाएको ताकेताको भद्र अवज्ञा गरौं- देउवा

Share

काठमाडौं, जेठ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेपछि पूर्वप्रधानमन्त्री समेत देउवाले कर नतिर्न आग्रह गरेका हुन् । विभागले जेठ २५ भित्र कर नतिरे जरिवाना लगाइने सूचना जारी गरेपछि व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै देउवलो भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको आरोप लगउँदै देउवाले पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएकोमा सरकारको आलोचना पनि गरेका छन् ।

जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता लिन माग गर्दै कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ्कन गर्न माग गरेका छन् ।

देउवाले भनेका छन्, ‘प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर भएन। तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो ।’

‘सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न म अपिल गर्दछु,’ उनले भनेका छन्, ‘जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *