Type to search

मुख्य समाचार

एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

Share

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् ।

सोमबारदेखि शुरु हुने दोस्रो चरणको खोप अभियानमा भने दूतावास, राष्ट्रसंघीय निकायका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पहिलो चरणमा भारतको ‘कोभिशिल्ड’ खोप देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको जानकारी दिनुभयो ।

जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसंख्याको तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो ।

खोप अभियान हिजो सम्पन्न भएको छ । पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयको तयारी छ । सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने जनाएको छ ।

भारतले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । चीनले पनि पाँच लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यता कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड र अष्ट्राजेनेकाको खोप तीन साता भित्र आइपुग्ने मन्त्रालयले जनाएको छ ।

कोभ्याक्सले चार चरणमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *