Type to search

मुख्य समाचार

लुम्बिनीमा मायादेवि मन्दिर खुला

Share

कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ। न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराइले बताए। लुम्बिनी परिषर प्रवेशका ९ वटै ढोका मंसिर ३ गतेदेखि खोलिएको थियो। तर मायादेवि मन्दिर भने आइतबारदेखि खुला गरिएको हो।

पर्यटक प्रवेशका लागि मायादेवि मन्दिर पनि खुला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकीय चहलपहल सुरु भएको छ। अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा यो संख्या निकै न्युन हो। गत वर्ष मंसिरमा दैनिक ८/९ हजारका दरले पर्यटक लुम्निबी पुग्थे। आन्तरिक पर्यटकको आगमन सुरु भएपनि बाह्य मुलुकका पर्यटक आएका छैनन्। छिटपुट भारतीयहरु नेपालमा हुने आफन्तसंगै घुम्न आएपनि उनीहरुले आफ्नो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन्। कोरोना महामारी सुरु भएपछि परिचय खुल्ने गरी कोही पनि भारतीय लुम्बिनी प्रवेश नगरेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए।  

अंग्रेजी महिना मे र नोभेम्बर लुम्बिनीमा सबैभन्दा धेरै पर्यटक भित्रिने महिना हो। गत वर्षको मे महिनामा १ लाख ५४ हजार र नोभेम्बरमा १ लाख २७ हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सोही महिना २९ हजार भारतीयले लुम्बिनी घुमेका थिए। तर यो वर्ष कोरोना कहरले मे महिनामा पर्यटक आगमन सुन्य भयो। नोबेम्बर १६ देखि आंशिक रुपमा लुम्बिनी खुलेको हो। तर कोरोना डरले आन्तरिक पर्यटकको चहलपहल अहिले पनि निकै पातलो छ।

गत वर्ष सन २०१९ मा १५ लाख ५८ हजार पर्यटक लुम्बिनी आएका थिए। त्यसमध्ये ११ लाख ७८ हजार आन्तरिक पर्यटक हुन। २ लाख ६ हजार भारतीय गत वर्ष लुम्बिनी आएका थिए। तेश्रो मुलुकका १ लाख ७४ हजार बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए। तर यो वर्ष सन् २०२० को नोभेम्बरसम्म पर्यटक आगमन संख्या जम्मा २ लाख ३६ हजार छ। जुन जनवरी, फेब्रुअरी र मार्च २४ सम्मको आगमन हो। जसमा नेपाली १ लाख ७२ हजार, भारतीय ३९ हजार र तेश्रो मुलुकका ४४ हजार पर्यटक आएका थिए।

कोरोना कहर सुरु भएपछि चैत ११ अर्थात मार्च २४ देखि नोवेम्बर १८ सम्म लुम्बिनी बन्द रह्यो। मंसिर ३ देखि आंशिक रुपमा खुलेपछि लुम्बिनीमा आन्तरिक पर्यटकको पातलो चहलपहल सुरु भएको हो। भारतीय र तेश्रो मुलुकका पर्यटक आगमन भने शून्य नै छ।  

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *