Type to search

मुख्य समाचार

प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

Share

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ ।

नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आत्मालोचना गर्न माग गर्न थालेका छन् । नेता बामदेव गौतमले राम जन्मभूमिबारे ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्नुभएको छ ।

प्रधानमन्त्रीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी दिएको अभिव्यक्ति प्रमाणित नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ ।

आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्षअघि नै सुनाएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।’

प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत रहेका ओलीले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने पनि उल्लेख गर्नुभएको छ ।

यसअघि अर्का नेता नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले पनि यस्ता अप्रमाणित कुरा ल्याएर बहसलाई विषयान्तर नगर्न आग्रह गर्नुभएको थियो ।

नेकपामा अहिले प्रधानमन्त्रीका कार्यशैली र अभिव्यक्तिका कारण सरकार र पार्टी दुबै अलोकप्रिय भएको भन्दै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन तीब्र बहस चलिरहेको छ ।

यस्तो बेला ओलीले सोमबार भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र राम पनि नेपालमै जन्मिएको विवादास्पद भनाइ सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *