चिकित्सकहरुले मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि ऐन संशोधनको माग गर्दै आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गराएका छन् ।संघको विरोधलाई सरकारी चिकित्सक संघ (गोदान) र निजी अस्पतालहरुको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन), डक्टर्स सोसाइटी अफ नेपाल लगायतले समर्थन जनाएका छन् ।चिकित्सकहरुले सेवा बहिस्कार गरेसँगै उपचारका लागि अस्पताल गएका बिरामीले सेवा पाउन सकेका छैनन् ।
चिकित्सक संघले १ भदौदेखि लागू भएको मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि ऐनमा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको जनाएको छ ।संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा संलग्नलाई बिना धरौटी जेल चलानको प्रावधान थप गर्न समेत माग गरेको छ ।
संघले १७ भदौमा एक दिनका लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, १८ भदौमा स्वास्थ्य सेवाका प्रशासनिक कामहरु मात्र बन्द गर्ने, १९ भदौदेखि अन्तरंग सेवामा विरामी भर्ना नगर्ने, २० भदौमा आकस्मिक बाहेकका अन्य अपरेसन बन्द गर्ने, २१ गते आकस्मिक बाहेक ल्याब र रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।