न्यूजिल्याण्डका भू–मापन विज्ञ डा क्रिस पियर्सन नेपालमा चार साता विताउँदैछन् । नेपालको नापी विभागलाई प्रारम्भिक चरणदेखि परियोजना निर्माण र तथ्याङ्क प्रशोधनमा सहयोग गर्नका लागि उनी न्यूजिल्याण्डको विदेश मामिला तथा व्यापार मन्त्रालयको सहयोगमा यहाँ आएका हुन् ।वैशाख २०७२ को भूकम्पले सगरमाथाको उँचाई करिब ३ सेन्टिमिटर घटेको भूगर्भशास्त्रीहरुको अनुमान छ । सगरमाथाको अहिलेसम्मको आधिकारिक उँचाइ ८,८४८ मीटर हो ।
यो परियोजनामा जर्ज एभरेष्ट (जसले १९ औं शताब्दीमा सगरमाथाको सर्वेक्षण गरेका थिए) को जस्तै परम्परागत सर्वेक्षण विधि र आधुनिक 'ग्लोबल पोजिसनिङ सिस्टम' को उपयोग हुनेछ । उँचाइबारेको अन्तिम निर्णय भने एक वर्षपछि आउनेछ ।
सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले सगरमाथाको प्रथम सफल आरोहण गरेको ६५ वर्ष पुगेको छ । "१६ जेठ २०१० को ऐतिहासिक सफलताले घनिष्ठ र न्यानो बनाएको न्यूजिल्याण्ड र नेपालको सम्बन्धलाई निरन्तरता दिंदै हामी नेपालको विकासका लागि प्रयत्नशील छौं । त्यसैले विश्वकै अग्लो चुचुरोको वास्तविक उँचाइ पत्ता लगाउने महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो," नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआन्ना केम्पकर्स भन्छिन् ।
"चर्चित पर्यटकीय आकर्षण सगरमाथाको उँचाई नाप्न नेपाल सरकार र नापी विभागलाई सहयोग गर्न पाउनु न्यूजिल्याण्डका लागि सम्मानको कुरा हो । भूकम्पपछि नेपाललाई लक्षित प्राविधिक सहयोग गर्न पाउँदा पनि हामीलाई खुशी लागेको छ," नेपालका लागि न्यूजिल्याण्डकी मानार्थ कन्सुल लिसा चोग्याल भन्छिन् ।
सगरमाथाको उँचाइ नाप्न न्यूजिल्याण्डको सहयोग र पियर्सनको विशेषज्ञता निकै उपयोगी हुने नापी विभाग, खगोल तथा भूमापन महाशाखाका उपमहानिर्देशक निरज मानन्धर बताउँछन् ।
आधुनिक 'पोजिशनिंग सोल्यूशन निर्माता' अमेरिकी कम्पनी ट्रिम्बल एनजेड ले परियोजना अवधिमा एकत्रित तथ्यांक विश्लेषणका लागि आफ्नो जीपीएस प्रोसेसिङ सफ्टवेयर लाइसेन्स निशुल्क उपलब्ध गराएको छ । कम्पनीले शिखर मापनका लागि दुई अत्याधुनिक 'जीपीएस रिसिभर' समेत नेपाललाई पैंचो दिने भएको छ ।
पियर्सनले २०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालको नापी विभागसँग मिलेर 'सर्वे म्यापिङ प्रोजेक्ट' को सफल नेतृत्व गरिसकेका छन् ।
भूकम्पले मध्य नेपालको भूभाग करिब २ मीटर दक्षिणतर्फ धकेलिदिंदा भौगोलिक सूचना प्रणाली (जीआईएस) र भूमापन डेटाबेसका 'कोअर्डिनेट्स' खलबलिन पुगेका थिए । त्यसबेला 'कोअर्डिनेट्स' लाई यथास्थानमा ल्याउनका लागि पियर्सनले नापी विभागलाई सघाएका थिए । यो काममा पनि न्यूजिल्याण्ड सरकारको सहयोग थियो ।