Print this page

आज 'माघे संक्रान्ति

images
काठमाडौं : देशभर आज 'माघे संक्रान्ति' मनाउने चटारो छ।  बाली घर भित्र्याइसकेर केही फुर्सदिला बनेका नेपालीहरु समयको सदुपयोग गर्दै 'माघे सक्रान्ति' को रुपमा यो पर्व मनाउँदैछन्।थारू समुदायले माघी पर्वलाई नयाँ वर्ष, मैथिली समुदायले तिला संक्रान्ति,भोजपुरी समुदायले खिचडी पर्व, पहाडे समुदायले माघे संक्रान्ति र केहीले मकर संक्रान्तिको नाउँबाट मनाए पनि पर्व एउटै हो।यसलाई मिथिलावासीले नयाँ वर्षका रूपमा पनि मनाउँछन्। मध्य जाडोमा पर्ने हुनाले शरीरलाई उष्णता प्रदान गर्ने खालको परिकार खाँदै पर्व मनाउने परम्परा छ। यो पर्वमा सख्खरमा तिल, नयाँ धानबाट निर्मित च्यूरा र मुरही (भुजा) मिसाएर निर्माण गरिने तिलवा (तिलको लडडु), चुरलाई (च्यूराको लडडु) र मुरलाई (भुजाको लडडु) खाने परम्परा छ। 
यी परिकार शरीरलाई उष्णता, ऊर्जा र स्फूर्ति दिने खानेकुरामा गनिन्छन्। 'यो पर्व जाडोमा पर्ने हुँदा शरीरलाई न्यानो राख्ने र ऊर्जा दिने खालको परिकार खाने चलन छ', मैथिली संस्कृतिविद् रेवतीरमण लाल भन्छन्, 'यी परिकारले शरीरलाई रोगविरुद्ध लड्ने शक्ति पनि प्रदान गर्छन्।' 
 
कक्रक्क पार्ने जाडो र शीतलहरमा चिसो पानीमा डुबुल्की मार्दै सख्खर र तिलबाट मिश्रित तिलवा सेवनको मज्जा नै बेग्लै हुन्छ। यो दिन जस्तोसुकै जाडो र चिसो पानी भए पनि जलाशय, पोखरी, तलाउ, नदी, धारालगायतका स्थानमा नुहाउने परम्परा छ। नुहाएर तिलकै भुस प्रयोग गरी बालिएको घुर (आगो) तापेर वर्षभरि गरिएको पाप कटाउने जनश्रुति पाइन्छ।