Print this page

शव जलाउन बन्द

 

aaryaghat-Pashupatinat

काठमाडौ । पशुपति क्षेत्र विकास कोषको घाट सेवाका कर्मचारी थप सुविधा माग्दै मंगलबार आन्दोलनमा उत्रेका छन् । उनीहरूले काम ठप्प पारेपछि मृतकका आफन्तहरूले नै दाहसंस्कार गरे । सेवासुविधा साह्रै कम भएको र विस्तारका लागि माग राख्दा कोषले बेवास्ता गरेको आन्दोलनरत कर्मचारीले बताए । यो सेवामा शव जलाउने, किरिया बस्ने ब्राह्मणलगायत छन् ।

कोषले किरियापुत्री बस्दा र शव जलाउँदा ब्राह्मणहरूलाई निश्चित रकम दिने गर्छ । कर्मचारीले साथमा उपदान, स्वास्थ्य बिमा र सुरक्षा माग गरेका छन् । थप १० प्रतिशत कमिसन उनीहरूले दाबी गरेका छन् । आन्दोलनका संयोजक विदुर बुढाथोकीले कोषले वास्ता नगरेका कारण आफूहरूले शव जलाउन बन्द गरेको बताए ।

‘३५ वर्षदेखि निरन्तर शव जलाउँदै आएका साथीहरू छन्, सेवासुविधा केही पनि छैन,’ उनले भने, ‘बन्द गर्नु हाम्रो बाध्यता हो, रहरले गरेका होइनौं ।’ कर्मचारीले शव जलाएबापत करिब १२ सय र किरिया बसेबापत ३५ सय रुपैयाँ पाउँछन् ।

‘ब्राह्मणलाई किरिया बसेबापतको सुविधा पुगेन, समयअनुसार बढ्नुपर्छ,’ बुढाथोकीले भने, ‘कोष धनी हुने, हामी सधैं गरिब हुने, यो त न्यायसंगत भएन नि ?’ उनले माग सम्बोधन नभए थप संघर्ष गर्ने चेतावनी दिए ।

कोषले कर्मचारीलाई वार्तामा आउन आह्वान गरेको छ । सदस्यसचिव गोविन्द टन्डनले छलफलबाटै माग पूरा गर्न सकिने बताए । हाल घाट सेवामा ८० कर्मचारी छन् । ती सबै ज्यालादारीका हुन् । आर्यघाट र कालमोचन घाटमा दैनिक ४५ देखि ५५ वटा शव दाह हुने गर्छन् ।