Print this page

नेताहरु छलफलमा बस्दै

काठमाडौं, पुस २६ - संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख दलका शीर्ष नेताहरु शनिबार पनि छलफलमा जुट्दैछन् । सहमतिको लागि भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीसँगै मधेशी मोर्चाको बैठक दिउँसो २ बजेपछि बोलाएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको उपस्थितिमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहित काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक बस्न लागेको हो । चार पक्षको बैठक बस्नुअघि विवादित विषयमा के कति लचकता अपनाउने भन्ने विषयमा सबैले आआफ्नो पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् । 

माघ ८ आउन १२ दिनमात्र बाँकी हुँदा पनि दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति जुटेको छैन ।

यसैबीच  बिहिबारको संविधानसभा बैठकले यी विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई जिम्मा दिएपछि समिति सभापति डाक्टर बाबुराम भट्टराई छलफलमा सक्रिय हुनुभएको छ । उहाँले शनिबार शीर्ष नेतासँग छुट्टै छलफल गर्ने कार्यक्रम छ ।

संवाद समितिले विवादित विषयमा सहमति जुटाउन सभापति भट्टराईलाई नै जिम्मा दिएपछि उहाँले छलफललाई तिब्रता दिनुभएको हो ।