Print this page

पाँचहजार माथीको खर्च विवरण अनिवार्य सार्वजनिक गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पाँच हजार रुपैयाँ भन्दा बढीको खर्च विवरण अनिवार्य रुपमा सार्वजनिक गर्न सरकारी निकायहरुलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री शुशील कोइरालाले पदवहाली गरेलगत्तै प्रधानमन्त्री कार्यालय र सो मातहतका अन्य कार्यालयहरुमा पाँच हजार रुपैयाँ भन्दा बढीको खर्च विवरण वेभसाइट मार्फत सार्वजनिक गर्ने निर्णय सवै सरकारी निकायमा कार्यान्वयन गर्न सतर्कताले निर्देशन दिएको छ। सतर्कता केन्द्रका प्रमुख अधिकृत तथा सचिव हरिप्रसाद नेपालले सरकारी खर्च पारदर्शी गराउन यस्तो निर्णय गरेको बताए। 'हाललाई सवै मन्त्रालय, विभाग र निकायहरुमा तलव, भत्ता बाहेकका पाँच हजार भन्दा बढीका सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएका छौं,' नेपालले नागरिकसंग भने 'सवै मन्त्रालय र विभागले अनिवार्य रुपमा साउन १ गतेदेखि यो निर्देशन पालना गर्नुपर्नेछ।' मन्त्रालय र विभागमा लागु गरेपछि छिट्टै यसलाई जिल्ला र क्षेत्रीय स्तरका अरु कार्यालयहरुलाई पनि अनिवार्य गरिने नेपालले बताए। 'सरकारी निकायमा कहाँ, कसरी र कति खर्च भैरहेको छ त्यो जनताले थाहा पाउन भनेर यो व्यवस्था सुरु गरिएको हो,' उनले भने। उनका अनुसार ति निकायहरुले सकभर सक्कल विल भरपाइ त्यो नभए कहाँ, कसरी, कति खर्च भयो, के कामका लागि खर्च भयो भन्ने विवरण मिति सहित उल्लेख गर्नुपर्नेछ। उक्त विवरण ति निकायहरुले कम्तिमा तिनदिन सम्म राख्नुपर्नेछ। र कोही खर्च विवरणको बारेमा मागेमा जुनसुकै समयमा उक्त व्यक्तिलाई त्यो विवरण उपलव्ध गराउनुपर्नेछ ।