लक्ष्मण देवकोटा , स्विट्जरल्याण्ड । गैर आवासीय नेपाली सँघ स्विट्जरल्याण्ड महिला विभागको सँयोजकत्वमा मिस नेपालमा सहभागी गराउने उद्देश्यले राजधानी बर्नमा डिसेम्बर १५ मा मिस नेपाल युरोपमा छनौट गर्नको निम्ति अडिशन हुने भएको छ ।
सँघकी युरोप महिला सँयोजक योगिता थापा लगायतको टोली अडिशनको निम्ति बर्न आउँदैछ ।बर्नमा डिसेम्बर १५ दिउँसो एकबजेदेखि कार्यक्रम राखिएको एनआरएन स्विसकी महिला सँयोजक सम्झना थापाले बताइन् ।
थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भनिन्, झट्ट हेर्दा शारिरीक सौन्दर्यको प्रतियोगिता जस्तो देखिएपनि नेपाल सम्बन्धी जानकारी बढाउने, नेपाली भाषा,भेष र सँस्कृतिलाई आत्मसात गर्न सहयोग पुर्याउने, नेपाली नृत्य र रचनात्मक कामका निम्ति हौसला दिने र नेपालसँग युरोपमा बसेपनि सम्बन्ध जोडिइराखोस् भन्ने मूल उद्देश्य यो मिस नेपाल कार्यक्रमको रहेको छ ।
युरोपका विभिन्न देशबाट छानिएर मिस नेपाल युरोप स्तरीय फाइनल कार्यक्रम बेल्जियममा हुनेछ । बेल्जियममा छानिएपछि मिस नेपालको काठमाण्डूमा हुने कार्यक्रममा सोझै सहभागी गराइने कुरा सँयोजक थापाले बताइन् ।