झापा, पुस २१ । अल्ट्राम्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।बेलायतमा कार्यरत् सगरमाथा तेक्वान्दो डोजाङसहितका विभिन्न संस्थाले विहीबार उनलाई सम्मान गरेका हुन् ।कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सांसद महेन्द्राकुमारी सुब्बा र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राईलाई संयुक्तरुपमा २८ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
पूर्वब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न सो रकम प्रदान गरिएको बताए ।मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाईसमेत दुई लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।