Print this page

थ्रीस्टारले माग्यो एन्फासँग ६ करोड क्षतिपूर्ति

काठमाडौं, मंसिर २८ । राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)ले 'अकल्पनीय अक्षम गल्ती' गरेको भन्दै क्षतिपूर्तिबापत ६ करोड रुपैयाँ माग दाबी गरेको छ ।एसियाली फुटबल महासंघको कार्यक्रमअनुसार एएफसी कप क्लब फुटबलको समूह चरणको च्याम्पियन भएर प्लेअफमा छनोट भएको अवस्थामा एन्फाको कमजोरीले प्लेअफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै थ्रीस्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको हो ।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले पटक–पटक ताकेता गर्दासमेत बेवास्ता गरेका कारण नेपालको प्रतिनिधित्व नै गुमाउने 'गद्दारी' एन्फाले गरेको क्लबका प्रतिनिधिले आरोप लगाए ।थ्रीस्टारका महासचिव सन्जीव शिल्पकारले च्याम्पियनले जित्ने १० करोड रुपैयाँको आशालाई बन्चित गरेर एन्फाले देशको इज्जतमाथि नै खेलवाड गरेकाले ६ करोड रुपैयाँ दाबी गरिएको बताए ।

प्लेअफ विजेताले पाउने एक करोड तथा उपविजेतासम्म बन्ने सूवर्ण अवसर रहेकाले त्यसबापतको पाँच करोड गरी थ्रीस्टारले ६ करोड माग गरेको हो ।थ्रीस्टारले मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गर्दा ७० लाखभन्दा बढी रुपैयाँ खर्च भएकोसमेत जनाएको छ ।एएफसीले चार पटकसम्म प्लेअफ सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गरे पनि एन्फाले त्यसलाई बेवास्ता गरेको थ्रीस्टार पदाधिकारीको आरोप छ । एन्फाले क्लबलाईसमेत कुनै जानकारी नगराएको थ्रीस्टारले बताएको छ ।

एन्फाले सिंगो नेपाली फुटबलमाथि कुठाराघात गरेको भन्दै थ्रीस्टारले दोषीमाथि सत्यतथ्य छानबिन गरी कारबाहीका लागि सरकारसँग अपिलसमेत गरेको छ ।

एन्फाले सचिवालयको गल्तीका कारण भएको घटनाका लागि गत मंसिर २४ गते नै थ्रीस्टारसँग माफी माग्दै अनुसन्धानका लागि एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।

थ्रीस्टार महासचिव शिल्पकारले गल्ती भएको हो भनेर एन्फाले स्वीकार गरिसकेपछि छानबिन हैन कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।उनले आफूहरुले न्याय नपाएसम्म क्लबले कुनैपनि प्रतियोगितामा भाग नलिने निर्णय गरेकोसमेत बताए ।