काठमाडौं, कात्तिक ८ । अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनमा लागि सोमबार विशेष साधारणसभा हुँदैछ ।काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ९ बजेदेखि डाकिएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ ।अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् ।
श्रेष्ठले अघोषित रुपमा पूर्व अध्यक्ष गणेश थापा समुहको प्रतिनिधित्व गरेका छन् भने शेर्पाले थापा विरोधी समुह बनाएर चुनावी अभियान बढाएका हुन् ।यसैगरी एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको यो १५ औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्न लागेकामा खुसी ब्यक्त गरेका छन् ।प्रतिनिधिहरुले निर्वाचन नगरेको भए एन्फासमेत निलम्बन हुन सक्थ्यो भन्ने मनसाय राखेको निर्वाचन समितिका संयोजक अजितकुमार केसीले जानकारी दिए ।