Print this page

ग्रामिण तथा विपन्न समुदायको बस्तीमा गएर स्वास्थ्य सम्वन्धी जनचेतना विस्तार र उपचार

सचिन पोख्रेल,सुनसरी समाचारदाता
इटहरी,। स्वास्थ्य संस्थाहरुमा मात्र परिचालित हुने नर्सहरु अहिले ग्रामिण तथा विपन्न समुदायको बस्तीमा गएर स्वास्थ्य सम्वन्धी जनचेतना विस्तार र उपचारमा प्रत्यक्ष सहभागी हुन थालेका छन् । स्वास्थ्य संस्थाहरुमा विरामीहरुको उपचारमा संलग्न चिकित्सकहरुसंग समन्वय गरेर काम गर्ने र विरामीहरुको हेरचाह तथा स्याहार सुसारमा परिचालित हुने नर्सहरु अहिले सम’दायमा केन्द्रीत हुन थालेका हुन । उनीहरुले दुर्गम तथा ग्रामिण बस्तीसम्म गएर समुदायको स्वास्थ्य सम्बन्धी समस्याको बारेमा सर्भेक्षण गर्नुका साथै जनचेतना विस्तार र विभिन्न रोगको उपचार एवं रोकथामका सन्दर्भमा विशेष अभियान चलाउन थालेका छन् ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सामुदायिक स्वास्थ्य नर्सिंग अन्तरगत एम्एस्सी दोश्रो बर्षका बिद्यार्थीहरुले धरान १७ को रेलवे बस्तीमा सामुदायिक स्वास्थ्य सम्बन्धी सर्भेक्षण, जनचेतना विस्तार र उपचार सम्बन्धी कार्यक्रमहरुको आयोजना गरी अभियानलाई अगाडि बढाएका छन् ।

नेपालमा वीपी प्रतिष्ठानमामात्र पढाइ हुने सामुदायिक स्वास्थ्य नर्सिंग विषयको अध्ययन गरिरहेका दोस्रो वर्षका विद्यार्थीहरु रेलवे वस्तीमा बसोबास गर्ने सर्वसाधारणमाझ डेढ महिनासम्म सामुदायिक स्वास्थ्यको सम्बन्धमा जनचेतना विस्तार गर्ने र विरामीहरुको उपचार गर्ने काम गरेका छन् । उनीहरुले त्यस अवधीमा सो वस्तीको स्वास्थ्य स्थिति बुझन गरेको स्वास्थ्य सर्वेक्षणको तथ्यांकलाइ एक औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक समेत गरेका छन् ।

धरानमा आयोजित सामुदायिक तथ्यांक प्रस्तुतीकरण तथा जनचेतना कार्यक्रममा नर्सिंग विद्यार्थीहरुले सर्वेक्षणको तथ्यांक सार्वजनिक गर्दै रेलवे वस्तीका अधिकांश वालवालिकामा कुपोषणको खतराजन्य अबस्था, दुधे बच्चालाइ आमाहरुले छ महिनासम्म स्तनपान पुर्ण रुपमा नगराएको अबस्था, मद्यपान गर्ने दम्पतीहरुमा मानसिक रोगको खतराजन्य अबस्था देखिएको जानकारी दिएका थिए । सामुदायिक स्वास्थ्य नर्सिंग विषयको एमएस्सी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी तथा कार्यक्रमकी संयोजक सरिता खतिवडाले बस्तीमा गरिएको सर्भेक्षणबाट गाउलेको स्वास्थ्य स्थिति, सरसफाइ र खानपीन तथाआर्थिक अवस्था लगायत विषयमा प्राप्त तथ्यांकको आधारमा आफुहरुले जनचेतना विस्तार र उपचार अभियानलाइ प्राथमिकता दिएको बताइन् ।

प्रतिष्ठानको सामुदायिक स्वास्थ्य नर्सिंग बिभागकी प्रमुख प्राध्यापक डा. तारा शाहले समुदायमा पुगर नर्सिंग विद्यार्थीहरुले गर्ने स्वास्थ्य सम्वन्धी सर्भेक्षण, जनचेतना विस्तार र उपचार अभियानबाट ग्रामिण र दुर्गम वस्तीका विपन्न परिबारले अधिक लाभ लिन सक्ने धारणा व्यक्त गरिन् । उनले नेपालमै पहिलो पटक प्रतिष्ठनको सामुदायिक स्वास्थ्य नर्सिंग विभागले धरानमा नर्सहरुबाटै संचालन हुने स्वास्थ्य क्लिनिक पनि संचालनमा आएको जानकारी दिदै सोबाट समेत लाभ लिन सर्वसाधारणलाइ आग्रह गरिन् ।

उदय सामुदायिक वन उपभोक्ता समुह धरानको पुर्वअध्यक्ष देशकुमार राइले नर्सिंगका विद्यार्थीहरुले बस्तीमा आएर सार्वसाधारणको स्वास्थ्य सुधारका लागि प्रारम्भ गरेको अभियानले विपन्न वर्गलाइ राहत मिल्ने बताउदै अभियानलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।कार्यक्रममा एमएस्सी नर्सिंगमा अध्ययनरत विद्यार्थीहरु सरिता खतिवडा, रिजा आचार्य, सिर्जना गौतम, धनमाया गुरुगं, सीता चापागाइ लगायतले धरानको रेलवे वस्तीमा देखिएको स्वास्थ्य स्थितिकोे चर्चा गर्दै नर्सहरुले चलाएको अभियानको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नर्सिंगका विद्यार्थीहरुले कुपोषण भएका वालवालिकाको स्वास्थ्य स्थिति सुधारका लागि आवश्यक पर्ने पौष्टिक आहार तथा स्वस्थकर खानपिनका साथै वाल मनोरञ्जनका सामाग्रीहरुको प्रर्दशनी गरेका थिए । उनीहरुले स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने उद्धेश्यले परिवर्तनको पाइलाहरु नमको नाटक पनि प्रस्तुत गरेका थिए ।