Print this page

आज विश्व मिर्गौला दिवस मनाइँदै

८ फागुन, काठमाडौं । विश्व मिर्गौला दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

नेपालमा कुनै न कुनै रुपमा ३० लाख जना मिर्गौला सम्वन्धि केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

उपचार महंगो मानिने मिर्गौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान-मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन उनको सुझाव छ ।

मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञ श्रेष्ठको भनाइ छ ।

सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।